आर्थिक

लकडाउनपछि सुस्त भएको अन्तरिक राजश्व संकलन उत्साहजनक

हिमालय टिभी
२०७७ असार २४ गते १३:११
लकडाउनपछि सुस्त भएको अन्तरिक राजश्व संकलन उत्साहजनक

२४ असार, २०७७ काठमाडौं । आन्तरिकतर्फ कर संकलनमा समस्या भोगिरहेको सरकारलाई राहत पुग्नेगरी कर संकलन हुन थालेको छ ।

एक असारपछि सरकारले लकडाउन केही खुकुलो पारेसँगै राजश्व संकलन हुने क्रम बढेको हो । आन्तरिक राजस्व विभागका अनुसार २२ असारसम्म ३५ अर्ब रुपैयाँ आन्तरिक राजस्व संकलन भइसकेको छ ।

दैनिक साढे १ अर्ब रुपैयाँको दरले राजस्व संकलन भइरहेको विभागको तथ्यांक छ । विभागका महानिर्देशक विनोद कुँवरका अनुसार करदाताबाट कठिन परिस्थितिका वावजुद राजस्व आउने क्रम जारी रहेको छ । यसले असार महिनामा सरकारलाई ठुलो राहत दिएको छ ।

भन्सार राजस्व केही कम भए पनि निरन्तर उठेको थियो । तर, आन्तरिक राजस्व भने चैत र वैशाखमा लक्ष्यभन्दा निकै कम उठेको थियो । जसले गर्दा सरकार दबाबमा आएको थियो ।

आर्थिक वर्षको अन्तिम महिना भएका कारण असारमा सामान्यतया बढी राजस्व उठ्नेगरेको छ । सामान्य अवस्थामा असार महिनाका लागि आन्तरिक राजस्व विभागलाई सरकारले दिएको लक्ष्य ५० अर्ब रुपैयाँ हो । २२ दिनमा ३५ अर्ब रुपैयाँ संकलन भइसकेको छ ।

लकडाउन केही खुकुलो भएसँगै वैदेशिक व्यापारको ग्राफसमेत उकालो लागेको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार ११ चैतमा करीव शून्यमा झरेको वैदेशिक व्यापार अहिले अधिकतम ८५ प्रतिशतसम्म सुधार आइसकेको छ ।

लकडाउन हुनुभन्दा अगाडिको सामान्य अवस्थाको तुलनामा वैदेशिक व्यापार ८५ प्रतिशतसम्म सुधार भएको हो । यसले जनजीवन सामान्यतर्फ उन्मुख भएको संकेत गर्ने महानिर्देशक दाहालले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *