नेकपा नेता राजेन्द्र राईको प्रश्न–के ओलीभन्दा पुष्पलाल र मदन भण्डारी पत्रु हुन ?
२३ असार, २०७७ काठमाडौं । नेकपाका केन्द्रीय सदस्य राजेन्द्र राईले पार्टी भित्र अध्यक्ष केपी शर्मा ओलीलाई भगवान सावित गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । गलत तर्क अघि सारेर वैचारिक छलफललाई कमजोर बनाइएको राईको गुनासो छ । फेसबुकमा राईले ओलीको नामै नलिई ओली भन्दा ‘पुष्पलाल,मदन भण्डारी के पत्रु हुन ? ’ भनेर सोध्नुभएको छ ।
वैचारिक छलफलका लागि भन्दै फेसबुकमा राईले राखेको विषय हामीले जस्ताको तस्तै राखेका छौं –
४ सिट जिताउने पुष्पलाल,६९ सिट जिताउने मदन भण्डारी के पत्रु हुन ? अहिलेका नेताहरु भन्दा काम नलाग्ने हुन ?
अहिलेको संवेदनशील अवस्थामा कम बोल्नु राम्रो, सार्वजनिक बहस बन्द गर्नु राम्रो भन्ने लाग्दा लाग्दै पनि घटना, नेताको मूल्यांकनको सन्दर्भ मा गलत तर्क अघि सार्ने र मुढे बलले आफ्ना गलत तर्क लाद्ने र कसैलाई भगवान र कसैलाई पत्रु साबित गर्ने कोसिस जारी रहेकोले सभ्य भाषामा केही वैचारिक छलफल गर्ने बाध्यता महसुस गरिएकोले:
१. पार्टीको, आन्दोलनको सफलता वा असफलता नेता वा व्यक्तिको चमत्कारले हुने होइन, यो तत्कालीन परिस्थितिमा, आफ्नो आत्मगत शक्ति/अवस्था, प्रतिद्वन्दी हरुको शक्ति/अवस्था आदिमा भर पर्छ , सफलता प्राप्त गर्ने नेता महान असफलता प्राप्त गर्ने नेता पत्रु मान्ने हो भने मार्क्स, एंगेल्सले क्रान्ति देखेनन् के उनीहरू पत्रु हुन, हामी भन्दा खत्तम हुन? पुष्पलाल जीवित हुँदा राजा, पञ्चायत दुवै गएन, मदन भण्डारीको पालामा राजा फालिएन, मदन भण्डारीको पालामा चुनाव लड्दा कांग्रेसले ११० सिट जित्दा झन्नै त्यसको आधा मात्र ६९ सिट जितियो, अझ पुष्पलालको पालामा लडिए को १५ सालको चुनावमा कांग्रेसले ७४ सिट जित्दा केवल ४ सिट मात्र जितियो जब कि कांग्रेस नेता सुवर्ण सम्शेर एक्लैले ३ ठाउँबाट जितेका थिए भने गोरखा परिषद् भन्ने पार्टीले १९ सिट जितेको थियो, के अब मदन भण्डारी र पुष्पलाललाई खत्तम भन्ने ?
२. पार्टीको, आन्दोलनको सफलता वा असफलताको जस् वा अपजस एक जना वा प्रमुख पदको नेतालाई मात्र जाँदैन, किन कि त्यस्तो सफलता वा असफलता फ्याट्ट, एक्कासी आउँदैन त्यसका पछाडि लामो श्रृङ्खला जोडिएर आएको हुन्छ, सफलताका लागि लामो समयदेखि जग तयार गरिँदै लगिन्छ, जसमा धेरैको योगदान हुन्छ, दोस्रो त्यस्तो सफलतामा पदमा कहिलेकाहीं पदमा हुनेको भन्दा नहुनेको र मुख्य पदमा बस्ने को भन्दा सहायक, सानो पदमा बस्नेको भूमिका नी सशक्त हुन सक्छ, जस्तै ४५-४६ को आन्दोलनमा गणेशमान, दक्षिण अमेरिकी कम्युनिस्ट आन्दोलनमा चे ग्वेभारा को योगदान, सुवर्ण सम्शेर नेता हुँदा नी बिपीको योगदान ।
3. कुनै क्रान्ति वा पार्टीको सफलताको जस् वा अपजस प्रथम पदमा रहेको व्यक्तिलाई मात्र दिने हो भने गिरिजा प्रसाद, माधव नेपाल, प्रचण्डको जस्तो सफलता न भुतो न भबिस्यती, किन कि वाहाहरु प्रथम पदमा भएको बेला राजा फालियो, जनवादी क्रान्ति (विशिष्ट नै सही) सम्पन्न भयो, ऐतिहासिक रूपमा शान्ति प्रक्रिया सम्पन्न भयो , क्रान्ति सम्पन्न गर्ने अवसर त विश्वका कमै कम्युनिस्ट पार्टी वा त्यसका नेतालाई प्राप्त हुन्छ ।
तर कुरो त्यस्तो होइन गणतन्त्र प्राप्तिमा, जनवादी क्रान्ति सम्पन्न हुनुमा गिरिजा, माधव, प्रचण्डको मात्र चमत्कार होइन सयौ सहिदहरु, हजारौं योद्धा, अग्रजहरूको, समकालीन सबै नेता कार्यकर्ताहरुको योगदान रहेको थियो, छ । त्यसै गरी कुनै पनि चुनावको सफलतामा पनि यही कुरा लागू हुन्छ, एक जनाको जादू, चमतकारले चुनाव जितीन्न । माथि नै भनीयो की एक चुनावको नतिजाको आधारमा नेताको संपूर्ण मूल्यांकन सक्ने हो भने सब भन्दा खत्तम पुष्पलाल, किनकि त्यस यस्ता त्यस्तो खराब परिणाम कहिल्यै आएको छैन र मदन भण्डारी नी असक्षम नै ठहरिन्छ न किन की वाहा नेता हुँदाको चुनावमा नी झन्नै कांग्रेसको आधा मात्र सिट जितिएको थियो ।
निष्कर्षमा वा खासमा यो पार्टीलाई, क्रान्तिलाई यो ठाउँसम्म ल्याई पुर्याउन कमरेड केपी, प्रचण्ड, माधव, जे एन, वामदेव लगायत सबै नेताहरुको र हामी कार्यकर्ता, जनताको योगदान, त्याग छ, त्यसैले सबैलाई सम्मान गरौं !
४, पुस्ताको कुरामा पनि पुरानो पुस्तालाई जती गाली गरे पनि पञ्चायत, राजा फ्याँक्ने, जनवादी क्रान्ति सम्पन्न गर्ने दुर्लभ उपलब्धि पुरानो नेताकै नेतृत्वमा सम्पन्न भएको छ, त्यस दौरानमा कति थाके कति सत्रुको कित्तामा गए, तर अहिलेसम्म टिकेका नेताले त्यसो गरेनन् यो सानो कुरा होइन !
अन्तमा, गाली गलौज कसैले नगरौं, सबैको सम्मान गरौं,भन्ने गरेका छौं कम्युनिष्टहरू विशेष धातुले बनेका हुन्छन्, सबै भन्दा अनुशासित, संस्कार युक्त हुन्छन्, यी कुराहरूलाई व्यवहारमा उतारौ ।
बुद्धि नपुर्याउँदा लेनिन, स्टालिन द्वारा नितृत्व गरिएको क्रान्तिको उपलब्धि त कहाँ पुग्यो, देख्दा देख्दै पश्चिम बङ्गालको कम्युनिस्ट सत्ता के भयो , यस्तै यस्तै,,,
प्रतिक्रिया