राजनीति

बाझाबाझ र घोचपेचबाट सुरु भएको ओली–प्रचण्ड भेटवार्ता निष्कर्षविहीन, भोलि के होला ?

हिमालय टिभी
२०७७ असार २१ गते १९:४०
बाझाबाझ र घोचपेचबाट सुरु भएको ओली–प्रचण्ड भेटवार्ता निष्कर्षविहीन, भोलि के होला ?

२१ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच निर्णायक भनिएको छलफल आज बिना निष्कर्ष सकिएको छ ।

पाँच जना नेतालाई साक्षी राखेर भएको छलफलमा दुई नेताले आ–आफ्ना अडानमा बसेपछि कुरा नमिलेको हो ।

तर असमझदारी बढ्ने काम नगर्न भने दुई नेता सहमत भएका छन । र, भोलि फेरि बस्ने गरी उठेका ओली र प्रचण्डले गृहकार्य गर्ने जिम्मेवारी चार जना नेतालाई दिनुभएको छ । आज बैठकको शुरुदेखि नै ओली र प्रचण्डबीच घोचपेच भएपछि राम्रोसँग छलफल गर्ने वातावरण नै नबनेको स्रोतको दावी छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बालुवाटार पुगेका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले डेलिगेशन गएर आउनुभयो होईन भनेर सोधेपछि प्रचण्डले तपाइँले बाध्य पार्नु भयो भन्ने जवाफ फर्काउनुभएको थियो । त्यसपछि प्रचण्डले ओलीलाई राष्टपतिलाई महाभियोग कसले लगाउने भएछ भनेर प्रतिप्रश्न गर्नुभयो ।

यसले गर्दा शुरुमै सहज ढंगले छलफल गर्ने वातावरण बन्न सकेन । ०७६ मंसिर ४ को सहमति कार्यान्वयनको विषयमा छलफल भए पनि त्यसमा समेत कुरा मिलेन । त्यसपछि निर्णायक भनिएको छलफल असार १९ को जस्तै भोलि फेरि बस्ने गरी सकियो ।

आईतवारको छलफल पहिलेको भन्दा भिन्न थियो । ०७५ साल जेठ २ गते भएको गोप्य सहमति गर्दाका दुई साक्षी विष्णु पौडेल र जनार्दन शर्मा बाहेक अरु तीन जना ईश्वर पोखरेल, शंकर पोखरेल र वर्षमान पुन अनन्त पनि सहभागी हुनुहुन्थ्यो ।

अब सहमति भए त्यसको साक्षी धेरै होउन भन्ने आशयका साथ पौडेल र शर्माका साथै अरु नेताको यसमा ईन्ट्री भएको स्रोतले जनाएको छ । बाझा बाझबाट शुरु भएको ओली र प्रचण्ड दुवै आ–अडानमा बस्नुभयो । तर अरु पाँच जना नेताको दबाबमा प्रोक्सी वार बन्द गर्ने सहमति भयो ।

अर्थात असमझदारी बढ्ने काम नगर्ने सहमति भयो । त्यसो भए एकताका आधार खोज्न सकिने र पार्टी बचाउन सक्ने वातावरण बन्ने निष्कर्ष निस्क्यो । अनि सरप्राईज युद्धविरामको सहमति भयो ।

कार्यदल भनेर घोषणा नै नगरेपनि चार जनाको टोलीलाई अरु नेतासँग समेत बसेर सहमतिको खाका बनाउने जिम्मा दिइएको छ । ओलीसँगको छलफलपछि प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाललाई खुमलटार बोलाएर गरेको ब्रिफिङले सहमति हुनेमा विश्वास गरिहाल्ने ठाउँ बनेको छैन ।

भेटमा प्रचण्डले ओली आफ्नो योजनाबाट दायाबायाँ गर्ने पक्षमा नरहेको बताएको स्रोतले जनाएको छ । नेकपा भित्रको विवादमा एकाएक नेपाली कांग्रेसको ईन्ट्री भएको छ ।

प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर सत्ता साझेदारीको समेत कुरा गरेको खबर सार्वजनिक भएपछि प्रचण्ड–नेपाल समूह झस्किएको छ ।

प्रधानमन्त्री ओलीलाई पनि पार्टी फोडेर कांग्रेससँग साझेदारी गर्न नहुने दबाब भित्रैबाट परेको छ । र, कांग्रेस फ्याक्टरले दुई चार दिन भएपनि एकता बचाउन भन्दै सहमतिको प्रयास गर्न उनीहरुलाई समय मिल्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्