नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता

१९ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच भएको छलफल निष्कर्षविहीन भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच तीन घण्टाभन्दा धेरै मन माझामाझ भए पनि ठोस निष्कर्ष निस्कन सकेन ।
छलफलमा दुई अध्यक्षका अतिरिक्त महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी हुनुहुन्थ्यो । उहाँहरु दुवैजना २०७५ साल जेठ २ गते (पार्टी एकताको अघिल्लो दिन( को गोप्य सहमतिका साक्षी हुनुहुन्छ ।
२०७५ साल जेठ ३ गते पार्टी एकता घोषणा हुनु अघिल्लो दिन ओली र प्रचण्डबीच पार्टी एकता गर्ने र आलोपालो प्रधानमन्त्री बन्ने गरी पाँच बुँदे सहमति भएको थियो ।
अहिले पार्टी विभाजन हुन थालेपछि ओली र प्रचण्डले पुराना साक्षी पौडेल र शर्मालाई राखेर नयाँ सहमतिको आधार खोज्ने प्रयास थाल्नुभएको हो । भोलि बस्ने स्ठायी कमिटी बैठक अघि दुई अध्यक्षबीच फेरि छलफल हुनेछ।
पार्टीको चालु स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग भएपछि नेकपाको विवाद चरम उत्कर्षमा छ । पार्टी बैठक चलिरहेका बेला बिहीबार प्रधानमन्त्री ओलीको ठाडो आदेशमा संसद अधिवेशन अन्त्य गर्ने निर्णय भएपछि थप विवाद भएको थियो ।
प्रतिक्रिया