आर्थिक

होटल व्यवसाय चाँडै सञ्चालनमा ल्याउने प्रयासमा सरकारः मन्त्री भट्टराई

हिमालय टिभी
२०७७ असार १९ गते १४:१४
होटल व्यवसाय चाँडै सञ्चालनमा ल्याउने प्रयासमा सरकारः मन्त्री भट्टराई

१९ असार, २०७७ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले होटल व्यवसाय छिट्टै सञ्चालनमा ल्याउने वातावरण बनाउन सरकार लागिपरेको बताउनु भएको छ ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पर्यटक–ग्राहक नै आउन नसक्ने अवस्थामा होटल सञ्चालन गरेर मात्रै नहुने बताउनुभयो ।

पर्यटनमन्त्री भट्टराईले कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी भएको लक डाउनका कारण पर्यटन क्षेत्रमा ८ लाखको रोजगारीमा असर परेको उहाँले बताउनुभयो ।

सरकारी र निजी क्षेत्रबाट गरी पर्यटन क्षेत्रमा १० खर्ब बढीको लगानी रहेको उल्लेख गर्दै उहाँले साढे २ लाख प्रत्यक्ष र ८ लाख मान्छे आंशिक रुपमा पर्यटन व्यवसायसँग जोडिएको उहाँले बताउनुभयो । कोभिडका कारण कर्मचारीहरुलाई तलब दिनुपर्ने संकट उत्पन्न भएको उहाँको भनाइ छ ।

स्वास्थ्य सामग्री ढुवानीको पैसा ओम्नी समूहले अहिलेसम्म भुक्तानी नगरेको उहाँले बताउनुभयो । चीनबाट स्वास्थ्य सामग्री ल्याउन स्वास्थ्य मन्त्रालयबाट टेण्डर पाएको विवादित ओम्नी समूहले अहिलेसम्म ढुवानीबाफतको रकम एयरलाइन्सलाई दिएको छैन् ।

उहाँले भन्नुभयो, ‘‘टेण्डरमा ढुवानी भएका सामानको पैसा पाउन बाँकी रहेको छ । एयरलाइन्सले पाउन बाँकी छ । हामी लिन्छौँ । नेपाल एयरलाइन्सले लिन्छ । छिट्टै लिन्छौँ । ठेकेदारले पैसा कमाएको छ हामीले किन स्वयमसेवा गर्ने ? ओम्नी समूहले पैसा तिर्नुपर्छ त्यसको जिम्मेवारी स्वास्थ्य मन्त्रलायको हुन्छ ।’’

कोरोनाले पुर्‍याएको क्षतिपछि कसरी पुनःस्थापना गर्ने भन्ने विषयमा आवश्यक छलफल चलिरहेको उहाँले बताउनुभयो । देशको अर्थतन्त्रलाई ध्यानमा राख्दै बजेटमार्फत ५० अर्बको पुनर्कर्जाका लागि कोष बनाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *