विदेश

हङकङमा नयाँ कानूनसँगै प्रजातन्त्रवादी युवा अभियन्ता विस्थापित

हिमालय टिभी
२०७७ असार १९ गते ८:२८
हङकङमा नयाँ कानूनसँगै प्रजातन्त्रवादी युवा अभियन्ता विस्थापित

१९ असार, २०७७, हङकङ । चीनले विवादास्पद नयाँ सुरक्षा कानून लागु गरेपछि हङकङका प्रभावशाली प्रजातन्त्रवादी युवा अभियन्ता विस्थापित भएका छन् ।

नयाँ सुरक्षा कानून लागु भएको दुई दिनपछि प्रजातन्त्रवादी विद्यार्थी नेता तथा स्थानीय तहका प्रतिनिधि नाथन लले आफू हङकङबाट विस्थापित भएको बताएका हुन् ।

उनले विदेशमै रहेर पनि प्रजातन्त्रको पक्षमा वकालत गरिरहने बताएका छन् । सन् २०१४ मा अम्ब्रेला प्रोटेस्टको क्रममा उनी केही समय जेल परेका थिए । नयाँ सुरक्षा कानूनले हङकङले पाउँदै आएको स्वतन्त्रतालाई मार्ने भए पनि चीनले त्यसको बेवास्ता गरेको नाथनले आरोप लगाएका छन् ।

चीनले गत मंगलबार नयाँ सुरक्षा कानून पारित गरी अस्तिदेखि लागु गरेको छ । त्यस लगत्तै सो कानून अनुसार प्रजातन्त्रको पक्षमा प्रदर्शन गर्नेहरुको धरपकड पनि सुरु भएको छ ।

सन् १९९७ मा बेलायतले हङकङको सार्वभौमसत्ता चीनलाई सुम्पिएसँगै त्यहाँ उच्चस्तरको स्वायत्ततासहित एक देश दुई प्रणाली लागु छ । चीनको हिस्सा भएर पनि हङकङ अलग छ ।

गत वर्ष सुपूदर्गी सम्बन्धी विधेयकको विरोधमा दशौँलाख मानिसले हङकङमा सात महिनासम्म प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *