विश्वभर कोरोना संक्रमण बढ्दो, पछिल्लो २४ घण्टामा दुई लाख बढी थपिए
१९ असार, २०७७ काठमाडौं । विश्वभर कोरोना भाइरसका हालसम्मकै बढी संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाबाट अहिलेसम्मकै सबैभन्दा बढी २ लाख ८ हजार ८ सय ६४ जना संक्रमित भएका हुन् ।
अमेरिकामा सबैभन्दा बढी ५७ हजार २ सय ३६ जना संक्रमित थपिए । अमेरिकामा एकैदिनमा संक्रमित हुनेको संख्या पनि हालसम्मकै उच्च हो । यससँगै अमेरिकामा संक्रमित हुनेको संख्या २८ लाख ३७ हजार १ सय ८९ पुगेको छ । अमेरिकापछि ब्राजिलमा ४७ हजार ९ सय ८४ जना संक्रमित थपिए ।
यस्तै छिमेकी देश भारतमा पनि हालसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भए । भारतमा एकैदिन २१ हजार ९ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमितको संख्या ६ लाख २७ हजार १ सय ६८ पुगेको छ ।
यस्तै गएको एक दिनमा विश्वभर कोरोना संक्रमणबाट ५ हजार १ सय ५५ जनाले ज्यान गुमाए । अघिल्लो दिनमा विश्वभर कोरोना संक्रमणबाट ४ हजार ८ सय ३६ जनाको मृत्यु भएको थियो ।
ब्राजिलमा सबैभन्दा बढी १ हजार २ सय ७७ जनाको मृत्यु हुँदा अमेरिकामा ६ सय ८७ तथा भारतमा ३ सय ७७ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकामा हालसम्म १ लाख ३१ हजार ४ सय ८५, ब्राजिलमा ६१ हजार ९ सय ९० तथा भारतमा १८ हजार २ सय २५ जनाको मृत्यु भैसकेको छ । विश्वभर कोरोना संक्रमित ६१ लाख ३४ हजार ७ सय भन्दा बढी निको भैसकेका छन् ।
प्रतिक्रिया