समाज

पाँच वर्ष लगाएर बनाएको वडा कार्यालय हस्तान्तरण नहुँदै भत्कियो (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १७ गते १७:१९
पाँच वर्ष लगाएर बनाएको वडा कार्यालय हस्तान्तरण नहुँदै भत्कियो (भिडियोसहित)

१७ असार, २०७७, धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ मा ५ वर्ष लगाएर बनेको वडा कार्यालयको भवन हस्तान्तरण नहुँदै भत्किन थालेको छ ।

साविक रतनपुर गाविस कार्यालयका लागि पटक–पटक म्याद थप गरेर बनाइएको सभा हल, प्रशासन कक्ष, पदाधिकारी कक्षसहितको नयाँ भवन प्रयोगमा नआउँँदै ठाउँठाउँमा चिरा परेको छ ।

कैलारी गाउँपालिका वडा नम्बर ७ को कार्यालय भवन निर्माणका लागि काफली कन्ट्रक्सनले ठेक्का पाएको थियो । २०७२ असार २७ गते ३१ लाखमा १ वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी ठेक्का भए पनि पटक(पटक म्याद थप गरेर ठेकेरदारले पाँच वर्ष झुलाइदियो । जसो तसो भवन त बन्यो तर कामै नलाग्ने गरी ।

बाहिरबाट चिटिक्क देखिने भवन भित्रबाट भने जीर्ण छ । भवनको यस्तो दुरावस्थाबारे पटक–पटक आवाज उठाउँदा समेत कुनै सुनुवाइ भएन । वडाध्यक्षले निर्माणमा संलग्न सबै पक्षलाई कानूनी दायरामा ल्याउनुपर्ने माग राखेका छन् ।

निर्माण सम्पन्न नहुँदै सरकारी भवन भत्किन थालेपछि गाउँपालिकाले मर्मत सम्भारको लागि निर्माण कम्पनीलाई पत्राचार गरेको थियो । त्यसको सुनुवाई नभएपछि गाउँपालिकाले २०७६ साउन ३० गतेको कार्यपालिका निर्णय अनुसार निर्माणमा संलग्न जनशक्ति र निर्माण कम्पनीलाई कारवाही थाल्ने भनिएको थियो तर हालसम्म प्रक्रिया अघि बढेको छैन ।

कमशल सामाग्री प्रयोग भएका कारण भवन जुनबेला पनि भत्किन सक्छ । मर्मत गर्छु भनेर गएको ठेकेदार अहिले सम्पर्कविहीन छ । सानो विषय जस्तो देखिएपनि हाम्रा विकास निर्माण कसरी अघि बढेका छन् भनेर यो भवन एउटा उदाहरण बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *