विदेश

चीनमा देखियो फेरि नयाँ भाइरस, सुँगुरबाट मान्छेमा सर्ने वैज्ञानिकहरुको चेतावनी

हिमालय टिभी
२०७७ असार १६ गते १७:०२
चीनमा देखियो फेरि नयाँ भाइरस, सुँगुरबाट मान्छेमा सर्ने वैज्ञानिकहरुको चेतावनी

१६ असार, २०७७ बेइजिङ । वैज्ञानिकहरूले विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको एउटा नयाँ फ्लू भाइरस चीनमा फेला परेको बताएका छन् ।

वैज्ञानिकले सुँगुरमा भेटिएको यो भाइरस हालै विकसित भएको बताएका छन् । भाइरसको संरचना परिवर्तनसँगै मानिसमा सर्ने र विश्वभरि फैलिने सम्भावना समेत रहेको अनुसन्धानकर्ताले चेतावनी दिएका छन् ।

तत्कालका लागि समस्या नभए पनि उक्त भाइरसमा मानिसलाई सङ्क्रमण गर्न आवश्यक सबै गुण भएकाले चनाखो बन्नुपर्ने वैज्ञानिकको भनाइ छ । सुँगुरमा उक्त भाइरस नियन्त्रण गर्न तथा सुँगुरपालन उद्योगमा काम गर्ने मानिसलाई जोगाउन आवश्यक उपाय अपनाउन सुझाव दिइएको छ । यो नयाँ भाइरस सन् २००९ मा फैलिएको स्वाइन फ्लूसँग मिल्दोजुल्दो छ ।

अनुसन्धानकर्ताका अनुसार नयाँ भाइरस मानिसको श्वासनलीमा भएका कोषमा बढ्न र फैलिन सक्छ। उनीहरुले वधशाला र सुँगुरपालनसँग सम्बन्धित कृषि उद्योगमा कार्यरत मानिसमा यो भाइरसले सङ्क्रमण गरेको प्रमाण समेत फेला पारेका छन् ।

नयाँ भाइरस भएकाले मानिसमा प्रतिरोध क्षमता नहुने र अहिले उपलब्ध फ्लूका खोप पनि प्रभावकारी नहुने भएकाले चिन्ता बढेको वैज्ञानिकको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *