जाजरकोटका नवराज विकलाई मरणोपरान्त पुरस्कार
१५ असार, २०७७ काठमाडौं । रुकुम पश्चिममा मारिएका जाजरकोटका नवराज विकलाई सरकारले मरणोपरान्त पुरस्कार दिने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा पुरस्कार अन्तर्गत समाज सुधार अभियानतर्फ उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
पुरस्कारको राशी १ लाख रुपैयाँ छ । समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा योगदान गरेका भगत सर्वजित विश्वकर्माको कदरस्वरुप सरकारले २०७३ सालबाट यो पुरस्कार दिन थालेको थियो ।
यो वर्ष समाज सुधारतर्फ नवराज विक, मानवअधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले र सीप, कला शिक्षा, साहित्य लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियारलाई पुरस्कृत गर्ने निर्णय मन्त्रालयले गरेको हो ।
मन्त्रालयले यस वर्ष प्रदान गर्ने अन्य विधामासमेत पुरस्कृत हुनेको नाम टुंगो लगाएको छ ।
एक लाख रुपैयाँ राशीको ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ काठमाडौंका प्रा. डा. दयाराम श्रेष्ठ, संगीत तथा नाट्य विधातर्फ सिरहाका सत्यनारायण चौधरी र ललितकलातर्फ काठमाडौंका श्यामलाल श्रेष्ठलाई पुरस्कृत गरिने मन्त्रालयले जनाएको छ । यसमा हरेक विधातर्फ ५० हजार पुरस्कार राशीको प्रादेशिक प्रतिभा पुरस्कारसमेत प्रदान गरिन्छ ।
प्रतिक्रिया