आर्थिक

रोपाईं गर्ने बेला भयो मल छैन, मल वितरण निकायको गोदाम रित्तै (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १४ गते १४:११
रोपाईं गर्ने बेला भयो मल छैन, मल वितरण निकायको गोदाम रित्तै (भिडियोसहित)

१४ असार, २०७७, धनगढी । सुदूरपश्चिममा मल अभाव झन चर्को छ । मल वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टेड्रिङमा यतिखेर मलको मौज्दात शून्य छ । गोदाम रित्तै भएपछि किसान चिन्तामा छन् ।

पहुँच हुने केही सहकारीले लकडाउनबीच कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टेड्रिङबाट मल लिए पनि अधिकाँसले पाएका छैनन् । कतिपय सहकारीले लकडाउनको फाइदा उठाउँदै चार गुणा बढी नाफा खाएर मल बेच्ने गरेको किसानको गुनासो छ ।

यो वर्ष समयमै वर्षा भएपछि जताततै रोपाइको चटारो छ । तर मुख्य बाली लगाउने सिजनमै मलको अभाव भएपछि किसान चिन्तामा छन् ।

जिल्लाको साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालयले प्रदेशमा मलको अभाव भएको स्वीकार गरेको छ । अधिकारीहरु यसको दोष संघ र प्रदेश सरकारलाई दिन्छन् ।

सुदूरपश्चिममा डिएपी मल सात हजार ५० मेट्रिक टन, युरिया आठ हजार मेट्रिक टन र पोटास दुई सय ७५ मेट्रिक टन खपत हुन्छ । किसानलाई मल बिना नै खेती गर्नुपर्ने बाध्यता छ । तर कृषि सामग्री कम्पनी लिमिटेडले भने ८० प्रतिशत किसानले डिएपी मल पाइसकेको दाबी गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने ठुल्ठुल्ला नारा दिएको छ । तर व्यवहारमा भने किसानले बर्सेनि खेतीपातीको मुख्य सिजनमा मल नपाउने समस्या खेप्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *