भारतले मिचेको भूमि फिर्ता गर्ने विषय ओझेलमा पार्न चीनसँगको सीमा विवाद उठाइयोः डा. भीम रावल, नेता नेकपा
![भारतले मिचेको भूमि फिर्ता गर्ने विषय ओझेलमा पार्न चीनसँगको सीमा विवाद उठाइयोः डा. भीम रावल, नेता नेकपा](https://www.himalayatv.com/wp-content/uploads/2020/06/bhim-rawal.jpg)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य डा. भीम रावलले भारतले मिचेको भूमि समेटेर नेपालले नक्सा जारी गरेपछि त्यसलाई ओझेलमा पार्ने षड्यन्त्र स्वरुप चीनसँगको सीमा विवादको कुरा उठाइएको बताउनु भएको छ ।
हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै नेता रावलले नेपालले भारतले अतिक्रमण गरेको भूमि छोड्नुपर्छ र त्यहाँ तैनाथ सुरक्षाफौज फिर्ता लैजानुपर्छ भनेपछि नेपालीको ध्यान अन्तै मोड्ने दुस्प्रयास गरिएको बताउनुभयो ।
नेपाली कांग्रेसका तीन जना सांसदले चीनले पनि नेपाली भूमि मिचेको भन्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेपछि रावलको यस्तो प्रतिकृया आएको हो । भारतसँगको वार्ता प्रकृयालाई अवरुद्ध पार्न र विषयवस्तुलाई अन्तै मोड्न कांग्रेसका केही नेताले चीनसँग सिमा विवादको कुरा उठाएको उहाँको भनाइ छ ।
अमेरिकी सहयोग परियोजना एमसीसीको प्रसंगमा एमसीसी अध्ययन कार्यदलका सदस्यसमेत रहेका नेता रावलले आफूहरुलाई अध्ययन नै नगरी जथाभावी आलोचना गरेको भनेर प्रधानमन्त्रीले गरेको टिप्पणीको पनि प्रतिवाद गर्नु भयो ।
प्रधानमन्त्री केपी शर्मा ओली केही दिन अघि राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै पार्टीभित्रैका केही नेताले अध्ययन नै नगरी एमसीसीको विरोध गरेको बताउनु भएको थियो । नेता रावलले हिजोको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष उपस्थित नहुनुको कारण आजको बैठकमा खोज्ने बताउनुभयो ।
प्रतिक्रिया