मोरङमा स्कारपियोले ठक्कर दिँदा तीन जनाको मृत्यु

१२ असार, २०७७, मोरङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी खण्डमा स्कारपिओ गाडीको ठक्करबाट तीनजनाको मृत्यु भएको छ ।
हिजो राति भएको दुर्घटनामा एक महिला र दुईजना पुरुषको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पथरीका अनुसार पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका वडा नम्वर ७ मा स्कारपियोले राति पैदलयात्री र मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकलमा सवार पाँचथरको फिदिम नगरपालिका वडा नम्वर २ का ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र झापा बाह्रदशी गाउँपालिका वडा नम्वर ४ का ३१ वर्षीय लोकेन्द्रबहादुर लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट मृत्यु भएकी महिलाको सनाखत हुन सकेको छैन । झापाको दमकबाट इटहरीतर्फ आउँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कारपिओले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएर अनियन्त्रित भई विपरीत दिशामा रहेको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिएको थियो । दुर्घटनापछि स्कोरपिओका चालक महेन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया