खेलकूद

लिभरपुलले जित्यो इंग्लिस प्रिमियर लिगको उपाधिे

हिमालय टिभी
२०७७ असार १२ गते ७:३५
लिभरपुलले जित्यो इंग्लिस प्रिमियर लिगको उपाधिे

१२ असार, २०७७ काठमाडौं । म्यानचेस्टर सिटीलाई चेल्सीले २–१ ले हराएसँगै इंग्लिस प्रिमियर लिग उपाधि लिभरपुलले जितेको छ ।

लिभरपुल ३० वर्षपछि पहिलो पटक उपाधि जित्न सफल भएको हो । गए राति भएको खेलमा सिटि चेल्सीसँग २–१ गोल अन्तरले पराजित भए पछि लिभरपुल च्याम्पियन बनेको हो । अघिल्लो सिजन नै उत्कृष्ट प्रदर्शन गरेको लिभरपुल म्यान्चेष्टर सिटीभन्दा एक अंकले पछि पर्दै उपाधिबाट विमुख भएको थियो ।

कोरोना भाइरसका कारण लिग स्थगित भएपछि उपाधिबारे अन्योलता थपिएको थियो । तर, ११ खेल बाँकी रहँदा लिभरपुलले २२ अंकको अग्रता लिइसकेको थियो । यदी लिग नै नभएपनि च्याम्पियन घोषणा हुँदा लिभरपुलबाहेक अरु क्लबलाई च्याम्पियन बनाइने थिएन ।

जर्गेन क्लोप्पको टिमलाई उपाधिका लागि मात्रै एक जितको खाँचो थियो । तर सिटी पराजित भएपछि अब कुनै पनि टिमले लिभरपुललाई भेट्टाउन नसक्ने भएका हुन् । लिभरपुलले समग्रमा १९ औँ पटक लिगको उपाधि जितेको हो । तर यो उपाधि सन् १९८९, ९० को सिजनपछि पहिलो उपाधि हो ।

लिभरपुलका धेरै खेलाडीले म्यानचेस्टर सिटीको खेलपछि उपाधि पक्का भएको खुशीयाली मनाएका छन् । यस्तै एनफिल्डमा जम्मा भएका लिभरपुलका समर्थकले पनि उपाधि जितेको खुशीयाली मनाएका छन् ।

चेल्सीले घरेलु मैदानमा भएको खेलमा पुलिसिक र विलियनको गोलबाट जित निकालेको हो । सिटीका लागि केविन डी ब्रुयनले एक गोल फर्काए ।

फर्नानडिन्हो सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि सिटी अन्तिमको १३ मिनेट १० खेलाडीमा सीमित भएको थियो । उपाधि पक्का गरेको लिभरपुलको सात खेल बाँकी हुँदा ८६ तथा दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६३ अंक भएको छ । चौथो स्थानको चेल्सीको ५४ अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्