विदेश

विश्वभर कोरोना संक्रमणको दर फेरि बढ्यो, एकै दिन १ लाख ७३ हजार संक्रमित

हिमालय टिभी
२०७७ असार ११ गते ७:४३
विश्वभर कोरोना संक्रमणको दर फेरि बढ्यो, एकै दिन १ लाख ७३ हजार संक्रमित

११ असार, २०७७ काठमाडौं । विश्वभर कोरोना संक्रमणको दर फेरि बढेको छ । विश्वमा एकै दिन संक्रमित हुनेको संख्या एक लाख ७३ हजार रह्यो । जुन पछिल्लो साताकै उच्च हो ।

पछिल्लो पटक एकै दिन एक लाख ७३ हजारमा कोरोना देखिएसँगै विश्वभर संक्रमितको संख्या ९५ लाख २० हजार नाघेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या भने केही कमी देखिएको छ ।

थप पाँच हजार ६९ जनाको मृत्यु भएको छ । कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या चार लाख ८३ हजार ९५७ पुगेको छ । विश्वभर ५१ लाख ६९ हजार मानिस कोरोना जितेर घर फर्किएका छन् ।

यता भारतमा एकै दिन संक्रमित हुनेको संख्या भने अहिलेसम्मकै उच्च देखिएको छ । थप १६ हजार ८ सय ७० जना कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो समय संक्रमण दर बढ्दै गएको भारतमा एकैदिन संक्रमित हुनेको संख्या १५ हजारभन्दा माथि रहने गरेको छ ।

भारतमा संमितको संख्या ४ लाख ७३ हजार पुगेको छ । थप ४ सय २४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १४ हजार ९ सय ७ पुगेको छ । भारतमा करिब ९ हजारको अवस्था गम्भिर रहेको छ ।

पाकिस्तानमा भने संक्रमण दर घट्दो क्रममा देखिएको छ । पाकिस्तानमा थप ३ हजार ८ सय ९२ जना संक्रमित फेला परेका छन् । पाकिस्तानमा हालसम्म संक्रमितको संख्या एक लाख ८८ हजार ९२६ पुगेको छ ।

आज सबैभन्दा बढी संक्रमित ब्राजिलमा फेला परेका छन् । ब्राजिलमा थप ४० हजार ९९५ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ११ लाख ९२ हजार नाघेको छ । ब्राजिलमा थप एक हजार एक सय ३ जनाको मृत्यु भएको छ ।

अमेरिकामा संक्रमण दर फेरि बढ्दै जान थालेको छ । थप ३९ हजार नयाँ संक्रमित फेला परेका छन् । योसँगै अमेरिकामा संक्रमितको संख्या २४ लाख ६३ हजार पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *