राजनीति

शुरुमै ओली र प्रचण्डबीच आरोप-प्रत्यारोप, फेरि उठ्यो आलोपालो सहमति (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १० गते २०:१७
शुरुमै ओली र प्रचण्डबीच आरोप-प्रत्यारोप, फेरि उठ्यो आलोपालो सहमति (भिडियोसहित)

१० असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच स्थायी कमिटी बैठकमै आरोप प्रत्यारोप भएको छ ।

ओलीले प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेतामाथि गुट चलाएको र प्रचण्डले ओलीमा अंहकार बढेको आरोप लगाउनुभयो । आलोपालो प्रधानमन्त्री बन्ने सहमतिबाट पछि हटेर आफूले पार्टी बलियो बनाउन आफूले कोशिस गरेपनि ओलीले सहमति पालना नगरेको गुनासो गर्नुभयो । पहिलो दिननै दुई अध्यक्षबीच भएको आरोप प्रत्यारोपले स्थायी कमिटी बैठक पेचिलो हुने देखिएको छ ।

यसपटकको बैठकमा स्थायी कमिटी सदस्यहरु चर्काचर्की गर्छन भन्ने धेरैले अनुमान गरेकै विषय हो । तर बैठकको शुरुमै माउ नेतानै ङ्यार ङ्यार ङुर ङुर गर्लान भन्ने अनुमान कमैको थियो । तर ६ महिनापछि बसेको स्थायी कमिटी बैठकको उद्घाटन शत्रमै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड भीड्नुभयो । त्यतिमात्रै होईन, वरिष्ठ नेता माधवकुमार नेपाल ओलीले बोल्दै गर्दा प्रतिवादमा उत्रिनुभयो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीमा अंहकार बढ्दै गएको टिप्पणी गर्नुभयो । ओलीबाट निकै अपमानको महशुस गरेका प्रचण्डले ०७५ साल जेठ २ गते आलोपालो प्रधानमन्त्री बन्ने सहमतिबाट पछि हटेर आफूले गल्ती गरेको सम्म भ्याउनुभयो । प्रचण्डले भन्नुभयो ‘मैले पार्टी एकता हुँदाको सम्झौता छाडेर पार्टीको हकमा जे लाभ हुन्छ भनिएको थियो त्यो भएन । त्यो गल्ती गरिएछ भन्ने महशुस भएको छ ।’

त्यतिमात्रै होइन, ०७६ साल मंसिर ४ गते ओलीले पाँच वर्ष सरकार चलाउने र आफूले पार्टी हाँक्ने सचिवालयको निर्णय समेत कार्यान्वयन नभएको प्रचण्डको गुनासो छ । र, यो सबै ओलीमा बढ्दै गएको अंहकारको परिणाम भएको प्रचण्डको विश्लेषण छ । आप्नो कुरा राख्ने क्रममा प्रचण्डले ०७५ साल जेठ ३ गते पार्टी एकता हुनु अघिल्लो दिन भएको पाँच बुँदे सहमति गर्दा विष्णु पौडेल र जनार्दन शर्मा साक्षी रहेको पनि बैठकमा स्मरण गराउनुभएको छ ।

०७५ जेठ २ गते भएको पाँच बुँदे सहमतिमा केपी ओली, प्रचण्ड, विष्णु पौडेल र जनार्दन शर्माले हस्ताक्षर गर्नुभएको थियो । जसमा ओली र प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने भनिएको थियो । स्रोतका अनुसार प्रचण्डको प्रष्ट माग छ– कि ०७५ जेठ २ को सहमति पालना हुनुपर्यो कि त ०७६ मंसिर ४ को । अन्यथा नयाँ सहमति आवश्यक छ । यथास्थितिमा अघि बढ्न संभव छैन । तर प्रचण्डले संघर्षमा जाँदा पार्टी फूटमा जाने भएकोले एकतामै जोड दिँदै त्यसका लागि ओली सच्चिन र त्याग गर्न तयार हुनुपर्नेमा जोड दिनुभएको छ ।

‘सरकारले राम्रो काम गरेन’
पार्टी भित्रको कार्यशैलीको विषय मात्रै होईन, प्रचण्डले ओली सरकारको कार्यशैलीमाथि पनि गम्भीर प्रश्न उठाउनुभयो । सरकारको कामबाट जनता निराश भएको प्रचण्डको निष्कर्ष छ । प्रधानमन्त्रीले जति काम गरेको छु भने पनि जनताले अनुभूति नगरेको निष्कर्ष प्रचण्डले प्रधानमन्त्री ओलीकै अगाडि सुनाउनुभयो । प्रचण्डका अनुसार सरकारको गति यस्तै रहे सिद्धिनेछ ।

‘बहुमतको खेल भयो’
बैठकको शुरुमै बोलेका नेकपाका एक नम्बर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालमाथि निशाना साँध्नुभयो । प्रचण्ड र नेपालले बहुमतको खेल खेलर पार्टीलाई कमजोर बनाएको ओलीको आरोप छ । र, उहाँका अनुसार प्रचण्ड र नेपालको बहुमतको खेलले पार्टी बिग्रेको छ । ‘सहमतिका आधारमा पार्टी चलाउन छाडेर गुट बनाएर बहुमतको खेती गरेर हुन्छ।’ ओलीको भनाई उधृत गर्दै स्रोतले भन्यो –पार्टी बिग्रेको कारण त्यही हो ।’

वैशाख २० गतेको पार्टी सचिवालय बैठक अगाडि पार्टी फूट्नै लागेको स्वीकार गर्नुभयो ।
गुटबन्दी र बहुमतको खेलकै कारण पार्टी विभाजनको संघारमा पुगेको ओलीको भनाई छ । दल विभाजन सम्बन्धी अध्यादेश आएपछि नेकपामा चर्केका विवादले संसदीय दलमा हस्ताक्षर संकलनसम्मको अवस्था आएको थियो ।

सरकारले राम्रो गरे पनि सहयोग नपाएको गुनासो
सरकारले राम्रो काम गरेपनि सहयोग नपाएको प्रधानमन्त्री ओलीको गुनासो छ । प्रतिपक्षी दल भन्दा पनि बढी गरेर पार्टी भित्रकै कतिपय नेता सरकार विरुद्ध गलत प्रचारमा लागेको ओलीको आरोप । सरकारको सफलता देखाउने क्रममा ओलीले बाटो बनेको, कोरोना नियन्त्रणमै रहेको दावी गर्नुभयो । तर सरकारका कामको प्रचारमा भन्दा गलत प्रचारमा पार्टीकै नेता लागेको ओलीको आरोप छ । भ्रष्टाचार भयो भन्ने विषयको पनि उहाँले प्रतिवाद गर्नुभयो । प्रधानमन्त्री ओलीले पार्टीका स्थायी कमिटी बैठकमा वैशाख ८ गते ल्याएर पछि फिर्ता गरेको दल विभाजन सम्बन्धी अध्यादेश ठीक थियो भनेर बचाउ गर्नुभयो । गलत भएर नभई पार्टीकै नेताहरुले भनेर मात्रै आफूले फिर्ता गरेको ओलीको तर्क छ ।

ओली बोल्दा माधव नेपालको ‘क्रस’
बोल्ने क्रममा प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरेको र राष्टियताका विषयमा अहिले जति कहिल्यै नभएको दावी गर्नुभयो । आफूले मात्रै राम्रो काम गरेको भनेर आत्मप्रशंसामा ओली लागेपछि वरिष्ठ नेता माधवकुमार नेपालले ओली बोल्दा बोल्दै बीचैमा अरुका पालमा पनि राम्रो काम भएको थियो भनेर क्रस गर्नुभएको थियो । सबैले गरेको राम्रो कामको क्रेडिट दिँदा नबिग्रने नेपालको तर्क थियो । स्थायी कमिटी बैठकको पहिलो दिन नै दुई अध्यक्ष आरोप प्रत्यारोपमा उत्रिएपछि अरु स्थायी कमिटी सदस्य त्यसै अनुसार उत्रिने पक्का छ । त्यसैले सरकारको आलोचना, सहमतिको पालना, एक व्यक्ति एक पद लगायतका विषयले गर्दा स्थायी कमिटी बैठकमा चर्को रस्सा कस्सी हुने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्