समाज

कर्णाली प्रदेशमा कोरोना समुदायस्तरमा फैलियो, घरघरमा संक्रमित ! (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १० गते २०:०५
कर्णाली प्रदेशमा कोरोना समुदायस्तरमा फैलियो, घरघरमा संक्रमित ! (भिडियोसहित)

१० असार, २०७७ सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमण समुदायस्तरमै पुगेको छ । विदेशबाट आएका मानिससँग सम्पर्क नभएका व्यक्तिमा समेत धमाधम संक्रमण देखिन थालेपछि चिन्ता बढेको छ । एकातिर भारतबाट फर्किएकामा संक्रमण बढ्दो छ भने अर्कातिर समुदायमा समेत फैलिएपछि नियन्त्रणमा कठिनाइ हुने देखिएको छ ।

डोल्पाका ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भयो । उनी न भारतबाट आएका थिए, न त भारतबाट फर्किएका व्यक्तिको सम्पर्कमा नै पुगेका थिए । कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका दैलेखका तीन जनामा कोरोना संक्रमण देखियो ।

कर्णाली प्रदेशमा सबैभन्दा पछि संक्रमण देखिएको हो । सुरुवाती चरणमा क्वारन्टिनमा मात्रै देखिएको संक्रमण अहिले घर घरमा पुगेको छ । चिकित्सक पनि कर्णालीमा संक्रमण समुदायस्तरमा विस्तार भएकोमा चिन्तित छन् ।

उनीहरू पनि भारतबाट फर्किएका नभइ समुदायमै बसिरहेका थिए । ति मध्ये एक जनाको प्रदेश अस्पतालमा मृत्यु भयो । प्रदेश अस्पतालमा उपचार गराउन आएका विरामीबाटै ५ जना स्वास्थ्यकर्मीमा पनि संक्रमण सरिसकेको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका स्थित बाणिज्य बैंकका दुइजना कर्मचारीमा बुधबार संक्रमण पुष्टि भएको छ ।

उनीहरुमा पनि बैंकमै आउने सेवाग्राहीबाट कोरोना सरेको अनुमान गरिएको छ । यस्ता दर्जनौं उदाहरण देखिएका छन् जसले संक्रमण समुदाय स्तरमै विस्तार भएको देखाउँछ । कर्णाली प्रदेशमा सबैभन्दा पछि संक्रमण देखिएको हो । सुरुवाती चरणमा क्वारन्टिनमा मात्रै देखिएको संक्रमण अहिले घर घरमा पुगेको छ । चिकित्सक पनि कर्णालीमा संक्रमण समुदायस्तरमा विस्तार भएकोमा चिन्तित छन् ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा समुदायबाटै कम्तिमा २२ जनामा संक्रमण भएको छ । अव्यवस्थित क्वारन्टिन, परीक्षण विनै घर पठाउने सरकारी प्रवृति र खुकुलो लकडाउनले संक्रमण फैलाउन मद्दत गरेको छ ।

अवस्था यस्तै रहे संक्रमण नियन्त्रणवाहिर जान सक्ने चिकित्सकले चेतावनी दिइरहेका छन् । सरकारले केन्द्रीय स्तरबाटै कडाइ नगरेसम्म स्थिति नसुध्रने उनीहरुको ठहर छ ।

संक्रमण नहुँदा बढी त्रसित र सतर्क देखिएको कर्णालीमा अहिले भने चरम लापरबाही हुन थालेको छ । आम नागरिकले पनि भौतिक दुरी पालना गर्न छाडेका छन् । क्वारन्टिन व्यवस्थित गर्न तीनै तहका सरकार असफल भएका छन् । क्वारन्टिनबाटै संक्रमण अन्यत्र विस्तार भइरहेको छ । प्रदेश सरकार नियन्त्रणका लागि अब सेना नै परिचालन गर्नुपर्ने निष्कर्षमा पुगेको छ ।

जेठ पहिलो हप्ता पहिलो संक्रमण भेटिएको कर्णाली प्रदेशमा अहिलेसम्म १३ सय भन्दा बढी संक्रमित भेटिइसकेका छन् । यो क्रम दिनदिनै बढिरहेको छ । संक्रमणबाट ५ जनाको मृत्यु समेत भइसकेको छ । दैलेख संक्रमणको हटस्पट बनेको छ । अहिले समुदायस्तरमा विस्तार भएको संक्रमण नियन्त्रणमा तीनै तहका सरकार गम्भीर नबने अवस्था भयावह नहोला भन्न सकिन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *