बार्सिलोना स्पेनिस ला लिगाको फेरि शीर्ष स्थानमा

१० असार, २०७७ काठमाडौं । स्पेनिस ला लिगाको उपाधिको होडमा रहेको बार्सिलोना फेरी शीर्ष स्थानमा फर्किएको छ ।
गएराति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक विल्बाओमाथि एक शुन्यको कठिन जित निकाल्दै पुनः शीर्ष स्थानमा फर्किएको हो । बार्सिलोनाको जितमा एक मात्र गोल इभान राकिटिचले गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा बार्सिलोनाले अग्रता लिएको थियो ।
खेलको ७१ औं मिनेटमा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका राकिटिचको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो । लियोनल मेस्सीले प्रहार गरेको बल विल्बाओका डिफेन्डरमा लाग्दा पाएको बललाई राकिटिचले गोल गर्न सफल भए ।
त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र बार्सिलोनाले तीन अंक जोड्यो । जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग फेरी तीन अंकका अग्रता बनाएको छ । उसको ३१ खेलमा ६८ अंक भएको छ एक खेल कम खेलेको रियलको ६५ अंक छ ।
प्रतिक्रिया