समाज

नक्कली कागजपत्र बनाएर बैंकको १ करोड २५ लाख झ्वाम्

हिमालय टिभी
२०७७ असार ९ गते २०:१९
नक्कली कागजपत्र बनाएर बैंकको १ करोड २५ लाख झ्वाम्

९ असार, २०७७ नेपालगञ्ज । नक्कली र किर्ते कागजपत्र बनाएर नेपालगञ्जस्थित राष्ट्रिय बाणिज्य बैंकबाट १ करोड २५ लाख रुपैयाँ घोटाला भएको खुलेको छ । अनियमितता भएको थाहा पाएपछि बाँके प्रहरीले नेपालगन्जका एक जना सुनचाँदी ब्यबसायीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

सुनचाँदी ब्यबसायी रिजवान अहमद जसगढले जग्गाको लालपुर्जा, नक्शा, कर तिरेको रसिद सहितका नक्कली कागजपत्र बनाएर ऋण लिएको भेटिएको हो ।

राष्ट्रिय बाणिज्य बैंक नेपालगन्जको त्रिभुवन चोक शाखाबाट ब्यबसायी रिजवान अहमद जसगढले २०७६ मंसिर २२ गते ५० लाख र २०७७ जेठ २५ गते ७५ लाख गरी १ करोड १५ लाख ऋण लिए ।

ब्यबसायी जसगढले ऋणका लागि धितोको रुपमा पेश गरेका कागजपत्र रुजु गर्न नेपालगन्ज उपमहानगरपालिकामा पठाउँदा नक्कली भएको खुलेको हो । सरकारी छाप, कागजपत्र र कर्मचारीको दस्तखत समेत किर्ते गरेको पाइएपछि नेपालगन्ज उप महानगरपालिकाकाले छानविनका लागि प्रहरीमा पठायो ।

प्रहरीले अनुसन्धान गर्दै जाँदा धितोको रुपमा बैंकमा पेश गरेका ४ वटा मध्ये २ वटा लालपुर्जा नै नक्कली भएको र एउटा लालपुर्जामा क्षेत्रफल बढाएर किर्ते गरेको भेटिएको छ । ब्यबसायी जसगढले बैंकमा पेश गरेको सक्कली जग्गाको बजार मुल्य करिब ४ लाख मात्रै भएको तथ्य खुलेको छ । यी ब्यबसायीले अन्य ६ वटा बैकमा पनि कारोबार गरेको पाइएको छ । ति बैंकमा पेश गरेका कागजपत्र पनि नक्कली हुनसक्ने प्रहरीको आशंका छ ।

नक्कली र किर्ते कागज बनाएर बैकबाट ऋण लिएको अभियोगमा जसगढ पक्राउ परेपछि नेपालगन्जका सुनचादी ब्यबसायीमा अहिले खैलाबैला मच्चिएको छ ।

प्रहरीले अनुसन्धानका क्रममा एक पछि अर्को गर्दै १९ वटा नक्कली कागजपत्र फेला पारेको छ । राष्ट्रिय बाणिज्य बैकको प्रादेशिक कार्यालयले पनि यसबारे छानविन अघि बढाएको छ । यति धेरै नक्कली कागजपत्र बनाएर पेश गर्दा पनि बैंकका अधिकारीले किन थाहा पाएनन् भन्ने प्रश्न उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *