विदेश

कोरोना महामारीलाई राजनीतिकरण नगर्न डब्ल्युएचओको चेतावनी

हिमालय टिभी
२०७७ असार ९ गते ७:५०
कोरोना महामारीलाई राजनीतिकरण नगर्न डब्ल्युएचओको चेतावनी

९ असार, २०७७ काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसको महामारीलाई राजनीतिकरण नगर्न चेतावनी दिएको छ ।

अझै पनि कोरोना भाइरसको सङ्क्रमण उत्तिकै फैलिइरहेको र यसले गर्ने क्षतिमा कमी नआएको भन्दै डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयोसुसले विश्वका नेताहरुले कोरोना भाइरससँगै उत्पन्न महामारीलाई राजनीतिकरण नगर्न चेतावनी दिएका हुन् ।

उनले सबैलाई कोरोनाविरुद्ध एकताबद्ध भएर लड्न पनि अपिल गरेका छन् । सङ्क्रमितहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको प्रति अपेक्षित सम्वेदलनशीलता विश्व नेताहरुमा नदेखिएको भन्दै चिन्ता व्यक्त गरे ।

राजनीतिकरण नगर्न आह्वान गरिएको उनको भनाइ विषेश गरि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति बढी लक्षित रहेको छ । उनले अमेरिकामा पर्याप्त सतर्कता नअपनाइएको र राजनीतिक दाउपेचका कारण अनाहकमा धेरै मानिसको मृत्यु भइरहेको टिप्पणी पनि गरे ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि विश्वभरी कोरोनाभाइरसको महामारी शुरु भएदेखि नै डब्लुएचओले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आलोचना गर्दै आएका छन् ।

डब्लुएचओ प्रमुख गेब्रेयेसुसले ब्राजिल, इराक, भारत, दक्षिणी तथा पश्चिमी अमेरिकी देशहरुको अवस्था प्रति पनि चिन्ता व्यक्त गरे । ती देशहरुमा अझै पनि धेरै कोरोनाभाइरसबाट सङ्क्रमितहरु धेरै रहेको र अस्पतालहरुमा विरामीहरुको भिड भइरहेको उनले उल्लेख गरे ।

यसै बीच विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९० लाख नाघेको छ । हालसम्म कोरोनाका कारण विश्वभर ४ लाख ७० हजार ७ सय १६ जनाको मृत्यु भइसकेको छ । कोरोनाबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या १ लाख २० हजार ३ सय ९४ पुगेको छ ।

कोरोना संक्रमणबाट दोस्रो बढी प्रभावित देश ब्राजिलमा ११ लाख ४ हजार बढी संक्रमित र ५१ हजार २ सय २८ जनाको मृत्यु भएको छ । संक्रमित व्यक्तिहरुको आधारमा भारत चौथो स्थानमा छ । भारतमा ४ लाख २५ हजार बढी संक्रमित रहेको र १३ हजार ६ सय बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *