समाज

बेलहियामा सेनाको होल्डिङ सेन्टर, भारतबाट आउनेलाई ठूलो राहत (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार ६ गते १७:३४
बेलहियामा सेनाको होल्डिङ सेन्टर, भारतबाट आउनेलाई ठूलो राहत (भिडियोसहित)

६ असार २०७७, रुपन्देही । रुपन्देहीको बेलहिया नाकामा नेपाली सेनाले तयार पारेको होल्डिङ्ग सेन्टरमा भारतबाट फर्किएका नागरिकका लागि खाने र बस्ने प्रबन्धसमेत गरिएको छ ।

त्यहीबाट नै सम्बन्धित स्थानीय तहमा पुर्‍याउने व्यवस्था मिलाइएको छ । यसले भारतबाट आउने नागरिक सीमा क्षेत्रमै अलपत्र पर्ने अवस्था अन्त्य भएको छ ।

शुरुमा सिमानाकामा दुबै देशले आवागमन बन्द गरेकाले स्वदेश फिर्ता आएका नेपालीहरु भारततर्फकै क्वरण्टिनमा बसेका थिए । कोही लुकिछिपी नेपाल प्रवेश गरे । बैशाखदेखि स्थानीय तहको पहलमा नेपाल प्रवेश गराउन शुरु भयो ।

तर, सबै स्थानीय तहले आफ्ना नागरिकको उद्धार गर्न चासो नदेखाउँदा धेरै सीमा नाकामै अलपत्र परे । जेठको अन्तिम सातादेखि भने सीमा नाकामा होल्डिङ्ग सेन्टर स्थापना भएको छ । त्यसयता आएका नेपालीलाई आफ्नो भूमि प्रबेश गर्न र गन्तब्यसम्म पुग्न सहज भएको छ ।

नेपाल प्रवेश गर्नुअघि नै सबै नेपाली नागरिकहरुको दशगजा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले विवरण राख्ने गरेको छ । त्यसपछि नेपाल आर्मीले बनाएको हेल्थ डेक्समा उनीहरुको सामान्य स्वास्थ्य परीक्षण गर्ने, विवरण राख्ने र सेनाकै गाडीमा होल्डिङ्ग सेन्टरसम्म पुर्‍याउने व्यवस्था मिलाइएको छ ।

जिल्लागत रुपमा कक्षहरु निर्माण भएकाले त्यही अनुसार सबैजना बस्ने र आराम गर्ने गर्छन् । बिहान र साँझ खानाको व्यवस्था र दिउँसोमा नास्ताको व्यवस्था समेत गरिएको छ । उद्धार गरिएका नागरिकहरुलाई सम्बन्धित पालिकाहरुसम्म पुर्‍याउन यातायात व्यावसायीहरुसँग समन्वय गरिएको छ ।

नाकाबाट उद्धार गरिएका नागरिकहरुलाई पालिकाहरुले बनाएका क्वारण्टिनमा राख्ने गरिएको छ । शुरुमा एक हजार बढी नेपाली नागरिक आउने बेलहिया नाकाबाट अहिले त्यो संख्या घटेर पाँच सयमा झरेको छ ।

सहज नाका भएकाले पूर्व मेचीदेखि महाकालीसम्मका नागरिकहरुले स्वदश फर्कन यो नाका प्रयोग गर्ने गरेका छन् । सवारी साधान लिन नआएका र व्यवस्था नभएकालाई बस्न होल्डिङ्ग सेन्टरमा एक सयवटा बेड समेत बनाइएको छ । गएको दश दिनमा यो नाकाबाट पाँच हजार ६ सय नेपाली नागरिकको उद्धार गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *