आर्थिक

अलिकति मेहनत गरे कौशीमै यसरी फल्छ स्वस्थ र स्वच्छ तरकारी (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार ६ गते १७:२०
अलिकति मेहनत गरे कौशीमै यसरी फल्छ स्वस्थ र स्वच्छ तरकारी (भिडियोसहित)

६ असार, २०७७ काठमाडौं । शहरी क्षेत्रमा फोहोर अत्यधिक मात्रामा उत्सर्जन हुने गर्छ । कतिपयले घरमै बाध्यताले बोरामा खाँदेर राख्ने फोहोरलाई सदुपयोग गरी घरमा तरकारी खेती लगाउने गरेका छन् । यसले घरमै फोहर व्यवस्थापन हुने तथा ताजा तरकारी खाना पाइन्छ ।

सुर्खेतको वीरेन्द्रनगरस्थित हुलाक टोल विकास संस्थाका सचिव नेत्रबहादुर थापाको दैनिकी अहिले फेरिएको छ । उहाँ बिहान बेलुकाको समय छतमा लगाएको तरकारीको स्याहार सुसारमा खर्चनु हुन्छ ।

भान्सामा उत्पादन हुने बस्तुलाई वर्गीकरण गरेर मल बनाउनुहुन्छ । वडा कार्यालयबाट तालिम लिएपछि थापाको कौशी खेती अझ प्रभावकारी भएको छ ।

हालै कौशी खेती शुरु गरेकी पवित्रा कँडेललाई पनि आजकाल भ्याइनभ्याइ छ । सुरुका दिनमा त तरकारीका कारण परिवारमा ठाकठुक पनि पर्थ्यौ । लकडाउनपछि भने टोल विकास संस्थामा आवद्द धेरै सदस्य कौशी खेतीमा जुटेपछि उहाँलाई सहज भएको छ ।

बजार क्षेत्रमा पर्याप्त जग्गा नभएका कारण कौशी खेती प्रभावकारी हुँदै गएको छ । वडा कार्यालयले फोहोरलाई मोहोर बनाउन भन्दै गमला वितरण लगायतका कार्यक्रम संचालन गरिरहेको छ ।

फुटेका भाँडा वर्तन, गमला, बाल्टी, फ्रिज, जग, चामलका बोरा, तेलका प्याकेट, क्यारेट, पेय पदार्थका बोतल पनि कौशी खेतीका लागि उपयोग भइरहेका छन् । यसले फोहोर व्यवस्थापनमा पनि सहयोग पुगेको छ ।

कौशी खेतीले घरमै अर्गानिक तरकारी उत्पादन भएको छ । अर्कोतिर घरमै फोहर व्यवस्थापन हुँदा नगरपालिकालाई पनि सहज भएको छ । साथै नगरका बासिन्दाको स्वास्थ्यमा पनि फाइदा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *