बागमती प्रदेश प्रेस रजिस्टारको कार्यालयद्वारा सात सय ५ जना पत्रकारको कोरोना बीमा

५ असार, २०७७ काठमाडौं । बागमती प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले सात सय पाँच जना क्रियाशील पत्रकारहरुको कोरोना बीमा गराएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा सञ्चार रजिष्ट्रारको कार्यालयले महामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने प्रदेशका पत्रकारहरुको बीमा गराएको हो ।
सात सय पाँच जना पत्रकारहरुको बीमा यूनाइटेड इन्स्योरेन्स कम्पनीमार्फत गराएको हो । सो इन्स्योरेस कम्पनीका प्रतिनिधि दिनेश रेग्मीले बिहीबार बिमित पत्रकारहरुको विवरण सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटालाई हस्तान्तरण गर्नुभएको छ ।
कोरोना भाइरसको पीसीआर परीक्षणमा संक्रमित भएको प्रमाणित भए बीमा गरिएका पत्रकारले एक लाख रुपैयाँको बीमा रकम युनाइटेड इन्स्योरेन्स कम्पनीबाट पाउने सञ्चार रजिष्ट्रार सापकोटाले जानकारी दिनुभयो ।
बीमा रकम भुक्तानीका लागि कोरोना भाइरस संक्रमण देखिएर पीसीआर परीक्षणमा पोजिटिभ देखिएको हुनुपर्ने सापकोटाले जानकारी दिनुभयो ।
सञ्चार रजिष्ट्रार सापकोटाले–महामारीका बेला अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारको मनोबल उच्च होस भन्ने उद्देश्यले गरिएको बीमाले सहयोग पुग्ने विश्वास लिएका छौं ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक हजार जना पत्रकारको बीमा गराउने निर्णय गरेको जानकारी मन्त्री शालिकराम जमकट्टेलले दिनुभयो।
बीमाका लागि आवश्यक विवरण प्राप्त भएका सात सय पाँच जनाको बीमा पहिलो चरणमा गराइएको छ ।
बागमती प्रदेशका १३ वटै जिल्लाका क्रियाशील पत्रकार तथा ती जिल्लाबाट सञ्चालित रेडियो तथा टेलिभिजनमा कार्यरत पत्रकारलाई पनि बीमामा समेटिएको छ ।
प्रतिक्रिया