विदेश

भारत–चीन सीमा क्षेत्र लद्दाखमा हिंसक झडप, २० जना भारतीय सैनिकको मृत्यु

हिमालय टिभी
२०७७ असार ३ गते ७:४०
भारत–चीन सीमा क्षेत्र लद्दाखमा हिंसक झडप, २० जना भारतीय सैनिकको मृत्यु

३ असार, २०७७ काठमाडौं । भारत र चीनबीच एक महिनादेखि कायम तनाव बढेर हिंसात्मक झडपमा परिणत भएको छ । भारतीय र चिनियाँ सेनाबीच सोमबार रातिदेखि पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको झडपमा परी भारतीय सेनाका एक जना कर्णेलसहित २० जनाको मृत्यु भएको छ ।

सुरुमा भारतीय सेनाले झडपमा एक जना कर्णेलसहित ३ जना भारतीय सैनिकको मृत्यु भएको बताएको थियो । गएराति भारतीय सेनाले एक वक्तव्यमार्फत झडपमा गम्भीर घाइते भएका अन्य १७ जना सैनिकको मृत्यु भएको जनाएको छ ।

चिनियाँतर्फको क्षति भने यकिन हुन सकेको छैन । भारतीय सञ्चारमाध्यमले भारतीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै चिनियाँ पक्षबाट ठूलो संख्यामा हताहत भएको उल्लेख गरेका छन् । घटनालाई लिएर भारत र चीन दुवैले एकअर्कालाई आरोप लगाएका छन् ।

करिब १४ सय फिटको उचाइमा रहेको लेह–लद्दाख क्षेत्रमा सीमा विवादका कारण दुई छिमेकी आमनेसामने भएका हुन् । एसियाका दुई ठूला आणविक मुलुकबीच यो स्तरको हिंसात्मक झडप विगत ४५ वर्षकै पहिलो हो । यो घटनाले दुई देशबीच युद्ध हुन सक्ने भय पनि सिर्जना गरेको छ ।

चीनले एकतर्फी रूपमा ‘यथास्थितिको अवस्था मा परिवर्तन गर्न खोज्दा हिजो साँझदेखि हिंसात्मक झडप भएको भारतले जनाएको छ । शून्यभन्दा कम तापक्रम र हाई अल्टिच्युडका कारण घाइतेहरूको मृत्यु भएको सेनाले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले माथिल्लो तहमा भएको सहमतिलाई चिनियाँ पक्षले इमानदारीपूर्वक पालना गरिदिएको भए दुवै पक्षमा हताहत हुने गरी भएको झडप रोक्न सकिने बताएका छन् ।

चीनले भने भारतीय पक्षले अनधिकृत रूपमा निषेधित क्षेत्रमा प्रवेश गरेर सहमति उल्लंघन गरेकाले झडप भएको दाबी गरेको छ ।
तस्वीरः रोयटर्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *