एन्फा भक्तपुरको कार्यसमिति विघटन गरेर तदर्थ समिति गठन

२ असार, २०७७ काठमाडौं । अखिल नेपाल फुटबल एन्फाले भक्तपुर जिल्ला फुटबल संघको वर्तमान कार्यसमिति विघटन गरेर तदर्थ समिति गठन गरेको छ ।
आज सम्पन्न कार्यसमितिको आपतकालिन बैठकले वर्तमान कमिटीलाई विघटन गरेर किशोर हेकाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो ।
तदर्थ समितिमा १५ जना सदस्य नियुक्त गरिएको छ । विधान अनुसार काम नगरेको भन्दै वर्तमान कार्यसमितिका सबै सदस्यलाई हटाएर तदर्थ समिति बनेको हो । भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखु सहितका चार वटा जिल्ला संघका अध्यक्षले एन्फाको वर्तमान कार्यसमितिको विरोधमा थिए ।
यस्तै एन्फाको आपतकालिन बैठकले फिफाबाट आएको कोरोना भाइरस प्रभावितलाई दिइने राहत रकम सबै जिल्ला संघ तथा ए, बी र सी डिभिजन क्लबलाई समान ७५–७५ हजार रुपैयाँको दरले वितरण गर्ने निर्णय गरेको छ ।
पुरुष तथा महिला राष्ट्रिय टिमका खेलाडीलाई पनि पोषण भत्ता स्वरुप जनही १५–१५ हजार दिने निर्णय एन्फा कार्यसमिति बैठकले गरेको छ । कोरोना भाइरसका कारण स्थगित भएको फुटबल प्रशिक्षण सुरु गर्नका लागि पनि एन्फाले राष्ट्रिय खेलकुद परिषदमार्फत सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया