समाज

कोरोना परीक्षणको रिपोर्ट नआउँदै संक्रमित डिस्चार्ज गर्न हतार गरेपछि… (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १ गते २०:३४
कोरोना परीक्षणको रिपोर्ट नआउँदै संक्रमित डिस्चार्ज गर्न हतार गरेपछि… (भिडियोसहित)

१ असार, २०७७ काठमाडौं । पीसीआर रिपोर्ट नआउँदै घर पठाइएका दाङ घोराहीका १७ जनामा कोरोना संक्रमण पाइएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ स्थित चौघेरा क्वारन्टिनमा बसेका १३ र वडा नम्बर १७ कै प्रावि क्वाडीमा बसेका ४ जनामा कोरोना संक्रमण भेटिएको हो ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १७ स्थित चौघेरा क्वारन्टिनमा बसेका ३५ जनाको जेठ २१ गते पीसीआर टेस्टका लागि स्वाब संकलन गरिएको थियो । दोस्रो दिन जेठ २२ गते ६ जनालाई आरडीटी टेस्ट गरेर घर पठाइयो ।

थप १६ जनाको स्वाब संकलन गर्दा एक हप्तासम्म पनि रिपोर्ट नआएपछि जेठ २८ गते घर पठाइयो । तर चार दिनपछि २२ मध्ये सोमवार भारतबाट फर्केका १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आयो । यसले गाउँमा त्रास फैलिएको छ । रिपोर्ट नआउँदै घर पठाइएको भन्दै गाउँलेहरु आक्रोशित छन ।

त्रास उत्पन्न हुने नै भयो । रिपोर्ट नआउँदै घर गएका संक्रमितमध्ये ५ जनाले आइतबार मात्रै गाउँमा खसी काटेर खाएका थिए । कतिपय क्वारन्टिनबाट गएपछि गाउँमा मदिरा खाएर हिंडेको पनि पाइएको छ । गाउँमा कोरोना संक्रमण फैलिएको त्रास छ आक्रोश छ तर सरकारी निकायसँग भने सजिलो जवाफ छ –परिक्षणका लागि पर्याप्त सामग्री छैन ।

स्थानीयको आक्रोशमा परेका जनप्रतिनिधि अहिले पश्चातापमा छन । पहिले हचुवाका भरमा रिपोर्ट नआउँदै घर पठाए अहिले पछुताईरहेका छ । यसले ठुलो क्षति हुन सक्ने उनीहरुकै अनुमान छ ।

स्वास्थ्य मन्त्रालयको निर्देशिकामा १४ दिनभन्दा बढी समय क्वारेन्टिनमा बसेका र कुनै पनि लक्षण नदेखिएकाहरूलाई पिसिआर चेकजाँच नै नगरी घर पठाउन सकिने उल्लेख छ । तर स्वाब संकलन गरेकाहरुको रिपोर्ट आउदासम्म पर्खिनुपर्नेमा त्यसो गरिएन । त्यसको परिणाम अहिले घोराही उपमहानगरपालिकामा कोरोना फैलिएको त्रास छ । दाङमा भएको यो गल्तीबाट सबैले शिक्षा लिनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *