विदेश

भारतमा एकै दिन झण्डै १२ हजार कोरोना सङ्क्रमित, नौ हजारभन्दा बढीको मृत्यु

हिमालय टिभी
२०७७ जेठ ३२ गते १३:५८
भारतमा एकै दिन झण्डै १२ हजार कोरोना सङ्क्रमित, नौ हजारभन्दा बढीको मृत्यु

३२ जेठ, २०७७, नयाँ दिल्ली ।भारतमा कोरोनाभाइरसको महामारीबाट सङ्क्रमितहरुको संख्या हरेक दिन बढ्दै गइरहेको छ । दैनिक सङ्क्रमितको संख्या अघिल्लो दिनभन्दा पछिल्लो दिन बढी देखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा भारतमा ११ हजार ९२९ जना सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यो तथ्यांक पनि दैनिक सङ्क्रमितहरुको संख्यामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीहरुको भनाई छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या तीन लाख २० हजार ९२२ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३११ जनाको कोरोनाभाइरसबाट सङ्क्रमित भएकै कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतका कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या नौ हजार १९५ पुगेको छ ।

देशभरी कुल सङ्क्रमितमध्ये एक लाख ४९ हजार ३४८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु एक लाख ६२ हजार ३७९ जना सङ्क्रमण मुक्त भएका छन् ।

सबैभन्दा धेरै सङ्क्रमित रहेको महाराष्ट्र प्रदेशमा मात्रै एक लाख चार हजार ५६८ जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी दोस्रो धेरै सङ्क्रमित रहेको तमिलनाडु प्रदेशमा ४२ हजार ६८७ जना र तेस्रो धेरै सङ्क्रमित रहेको दिल्ली प्रदेशमा ३८ हजार ९५८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *