समाज

चितवनको माडीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३५ पुग्यो

हिमालय टिभी
२०७७ जेठ ३० गते १५:५५
चितवनको माडीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३५ पुग्यो

३० जेठ, २०७७ चितवन । चितवनको माडी नगरपालिकाका थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा १९ देखि ५१ वर्ष उमेर समूहका पुरुषहरु रहेका छन् । आज पुष्टि भएका कोरोना भाइरस संक्रमितहरु सबै क्वारन्टिनमा बसिरहेका छन् । उनीहरु दिवाकर स्मृति विद्यालय रमाइलो डाँडाको क्वारन्टिनमा रहेकामध्येका हुन् । सो क्वारन्टिनमा हाल भारतबाट आएका ४५ जना छन् ।

यसअघि माडीकै ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । योसंगै चितवनमा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । जसमध्ये २ जना निको भएर घर फर्किसकेका छन् भने एक जना ६८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

भरतपुर प्रयोगशालामा जेठ २८ र २९ संकलन गरिएको १९७ वटा स्वाब नमुना परीक्षण गर्दा ८ जनाको रिपोर्ट पोजिटिभ आएको हो । अन्य १८९ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

आज परीक्षण गरिएका नमुनाहरु मध्ये माडीको क्वारन्टिनको ८५ वटा, भरतपुर अस्पतालको २९ वटा, खैरहनी नगरपालिकाबाट ११ वटा, भरतपुर मेडिकल कलेजबाट ८, चितवन मेडिकल कलेजबाट ५ वटा, राप्ती नगरपालिकाबाट १५ र देवघाट तनहुँबाट १५ वटा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *