आर्थिक

न्युरोडका व्यवसायी ‘आर्थिक भार धान्न सकिएन चुलोसमेत निम्ने भो’ भन्दै प्रदर्शनमा

हिमालय टिभी
२०७७ जेठ २८ गते १२:४४
न्युरोडका व्यवसायी ‘आर्थिक भार धान्न सकिएन चुलोसमेत निम्ने भो’ भन्दै प्रदर्शनमा

२८ जेठ, २०७७ काठमाडौं । व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै साना व्यवसायीहरु प्रदर्शनमा उत्रिएका छन् ।

काठमाडौंको न्यूरोड क्षेत्रका साना व्यवसायीहरु लामो समय बन्द हुँदा आर्थिक समस्या बढेको र चुलोसमेत निभ्ने अवस्थामा पुगेको भन्दै पसल खोल्न पाउनुपर्ने मागसहित सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।

व्यवसायीहरुले लामो समयदेखि लकडाउन हुँदा आफुहरु समस्यामा परेको भन्दै जेठ २२ गतेदेखि पसल खोल्दै आएका थिए । तर प्रहरीले पसल बन्द गराएपछि व्यवसायीहरु विरोधमा उत्रिएका हुन् । उनीहरुले सरकारले साना तथा ठूला व्यवसायीबीच भेदभाव गरेको र आफुहरु घरभाडा, बैंक तथा वित्तीय संस्थाको ब्याज र कर तिर्न सक्ने अवस्थामा नरहेकोले व्यवसाय सूचारु गर्न दिनुपर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका कार्यसमिति सदस्य सुनिल अग्रवालले सरकारले लकडाउनको मोडालिटी परिवर्तन नगर्ने र राहत प्याकेजको सुविधा पनि नदिएकाले आफुहरु सबैभन्दा बढी समस्यामा परेको बताउनुभयो । उहाँले रहरले नभई करले सडकमा प्रदर्शन गर्न आउनु परेको बताउनुभयो ।

महासंघले दैनिक बिहान ४ घण्टा पसल खोल्ने निर्णय गरेपछि व्यसायीहरुले जेठ २२ गते देखि पसल खोलेका थिए । व्यवसायीहरुले सरकारलाई लकडाउनको मोडालिटी परिवर्तन गरी सामाजिक दुरी कायम गर्दै सुरक्षाका विधिहरु अपनाई पसल खोल्न दिनुपर्ने माग सहित दवाव दिदै आएका छन् । तर सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने बताएपनि कुनै ठोस निर्णय भने गर्न सकेको छैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *