एक जना डिस्चार्ज भएसँगै तत्कालका लागि भक्तपुर कोरोनामुक्त जिल्ला
१७ जेठ, २०७७, भक्तपुर । ४२ वर्षीय संक्रमित पुरुष डिस्चार्ज भएसँगै भक्तपुर हाललाई कोरोना मुक्त जिल्ला भएको छ ।
कोरोना भाइरस संक्रमण पुष्टि भएको ११ औं दिनमा भक्तपुर नगरपालिका–५ भेलुखेलका ४२ वर्षीय पुरुष घर फर्किएसँगै भक्तपुर कोरोना मुक्त जिल्ला भएको हो ।
युनिफाइट कोभिड–१९ अस्पताल बलम्बुमा उपचारारत ४२ वर्षीय पुरुषको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि शनिबार दिउँसो डिस्चार्ज भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सविन प्रधानले जानकारी दिए । उनी काठमाडौं महानगरपालिकाका सफाई कर्मचारी हुन् । उनी भक्तपुरका तेस्रो संक्रमित पुष्टि भएका थिए ।
यसअघि भक्तपुर नगरपालिका वडा नम्बर ९ की ४२ वर्षीया महिला जनप्रतिनिधिले छैंठौं दिनमा कोरोनालाई जितेर बिहीबार डिस्चार्ज भएकी थिइन् । उनी भक्तपुरकी चौथो संक्रमित थिइन् ।
पहिलो संक्रमित पुष्टि भएकी मध्यपुर थिमि बस्ने एक युवती र दोस्रो संक्रमित दुवाकोटका एक सशस्त्र प्रहरी जवानले यसअघि नै डिस्चार्ज भएर घर आइसकेका छन् । उनीहरु नवौं दिनमा डिस्चार्ज भएका थिए । उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।
सशस्त्र प्रहरी जवान पूर्व गृह तथा रक्षा मन्त्री भिम रावलको पिएसओ हुन् । भक्तपर जिल्लामा हालसम्म देखिएका चारै जना संक्रमित उपचारपछि घर फर्किसकेकाले भक्तपुर अब ग्रीन जोनमा रहेको परिसरका प्रमुख एसपी प्रधानले बताए ।
सरकारले जारी गरेको लकडाउन र सचेतता अपनाउन गरेको आग्रहलाई पालना गर्नु नै कोरोनाबाट बच्ने अचुक उपाय भएकाले सबैले यसको पालना गरिदिन समेत प्रहरीले आग्रह गरिएको छ ।
प्रतिक्रिया