समाज

मोटरसाइकल दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या

हिमालय टिभी
२०७६ भदौ २१ गते ८:३७
मोटरसाइकल दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या

रौतहट । मोटरसाइकल दाइजो नदिएको निहुँमा रौतहटको राजपुर नगरपालिका–७ अकोलवामा एक महिलाको हत्या भएको छ ।

मोटरसाइकल दाइजो नल्याएको भन्दै ससुरा र श्रीमानले २५ वर्षीया सन्जु देवीको हत्या गरेको भन्दै माइती पक्षले किटानी जाहेरी दिएका छन्।

मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै कुटपिट गर्ने गरेको उल्लेख छ ।

केही महिनाअघि कान्छी छोरीको बिहे गर्दा मोटरसाइकल दाइजो दिएको देखेपछि रामबाबुले सन्जुमार्फत् आफूलाई पनि मोटरसाइकल चाहियो भनेर माग्ने गरेको अविलासको भनाइ छ । बिहीबार दिउँसो सन्जुको मृत्यु भएको खबर पाएपछि आफूहरुले त्यहाँ गएर हेर्दा छोरीको घाँटीमा डाम देखिएको अविलासको दावी छ ।

जेठी छोरी सन्जुको बिहेमा केटा पक्षको माग बमोजिम सकेजति दाइजो दिएको, तर कान्छी छोरीको बिहेपछि भने जेठा ज्वाइँ रामबाबुले अनावश्यक रुपमा मोटरसाइकल माग गर्दै छोरीलाई मानसिक र शारीरिक यातना दिने गरेको मृतकका बाबुको भनाइ छ ।

प्रहरीले घटनाको अनुसन्धानका लागि मृतकको श्रीमान रामबाबु सहनी र ससुरा मोहन सहनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्