एउटै खेलमा मालिङ्गाले बनाए चार वटा कीर्तिमान
काठमाडौं । श्रीलंकाका बलर लासिथ मालिङ्गाले एकै खेलमा चार वटा कीर्तिमान बनाएका छन् । न्यूजिल्याण्डसँगको तेश्रो ट्वेन्टीट्वेन्टी क्रिकेटमा ४ बलमा लगातार ४ विकेट लिँदै मालिङ्गा दुई पटक ४ बलमा ४ विकेट लिने पहिलो खेलाडी बनेका हुन् ।
यससँगै उनी ट्वेन्टीट्वेन्टी क्रिकेटमा एक सय विकेट लिने पहिलो खेलाडी पनि बनेका छन् । उनले ट्वेन्टीट्वेन्टी का ७६ खेलमा १ सय ४ विकेट लिएका छन् ।
एकदिवसीय क्रिकेटमा तीन ह्याट्रिक गर्ने मालिङ्गा एक मात्र खेलाडी हुन् । समग्रमा ५ पटक ह्याट्रिक पनि अहिलेसम्म कुनै क्रिकेटरले गर्न सकेका छैनन् । तेश्रो ओभरको तेश्रो बलमा ओपनर कोलिन मुनरोलाई आउट गरेका मालिङ्गाले चौथो बलमा हमिश राउटफोर्डलाई पेबिलियनको बाटो देखाए ।
पाँचौँ बलमा कोलिन डी ग्राण्डहोमलाई आउट गर्दै ह्याट्रिक पूरा गरे । ओभरको अन्तिम बलमा रोस टेलरलाई पनि एलबीडब्ल्यू धरापमा पारे । मालिङ्गाले अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ४ बलमा ४ विकेट लिएको यो दोश्रो पटक हो । यो उपलब्धि हासिल गर्ने उनी विश्वकै एकमात्र खेलाडी हुन् ।
श्रीलंकाको पाल्लाकेलेमा गएराति भएको न्यूजिल्याण्डसँगको खेलमा ४ ओभर बलिङ गरेका मालिङ्गाले जम्मा ६ रन मात्र दिएर पाँच विकेट लिए । कप्तान मालिङ्गाको कीर्तिमानी प्रदर्शनसँगै श्रीलकाले न्यूजिल्यान्डसँगको तेश्रो ट्वेन्टीट्वेन्टी क्रिकेट ३७ रनले जितेको छ । १ सय २६ रनको सामान्य लक्ष्य भए पनि न्यूजिल्याण्डलाई १६ ओभरमा ८८ रनमा अलआउट गर्दै श्रीलंका विजयी भएको हो ।
प्रतिक्रिया