सुनसरीका दुई विद्यालयमा बम विष्फोट, सामान्य क्षति
सुनसरी । सुनसरीका दुई छुटाछुटै स्थानमा गएराती बम विष्फोट भएको छ।
इटहरी उपमहानगरपालिका–९ मा रहेको सुस्मा गोदावरी इञ्जिनियरिङ कलेज र धरानको दिल्ली पब्लिक स्कुलमा विप्लव समूहले बम बिष्फोट गराएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार राति सवा १२ बजे बिष्फोटको ठूलो आवाज सुनिएको थियो। सुस्मा गोदावरी इञ्जिनियरिङ कलेज पूर्वतर्फको पर्खालमा गराइएको विष्फोटबाट कलेजका झ्यालका शिशा र पर्खालमा क्षति पुगेको कलेजका सञ्चालक राजेश श्रेष्ठले बताउनुभयो ।
त्यस्तै, दिल्ली पब्लिक स्कुलको गेटमा क्षति पुगेको छ। घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी यज्ञविनोद पोखरेलले बम पड्काएर चन्दा आतंक मच्चाउने योजनाको साथ घटना गराएको हुन सक्ने बताउनुभयो।
केही दिनअघि चन्दा उठाएको आरोपमा विप्लव समूहका नेता मोहन कार्कीलाइ प्रहरीले इटहरीबाट पक्राउ गरेको थियो। त्यसैको प्रतिक्रिया स्वरुप बम विष्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ।
प्रतिक्रिया