समाज

अफगानिस्तानको काबुलमा भएको बम विष्फोटमा दुई नेपालीसहित १६ जनाको मृत्यु

हिमालय टिभी
२०७६ भदौ १८ गते ७:१८
अफगानिस्तानको काबुलमा भएको बम विष्फोटमा दुई नेपालीसहित १६ जनाको मृत्यु

काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा भएको आत्मघाती बम बिस्फोटमा परी २ नेपालीसहित १६ जनाको मृत्यु भएको छ । एक सय १९ जना घाइते छन् ।

बिस्फोटमा परी चितवन र रोल्पा घर भएका दुई नेपालीको मृत्यु भएको हो । उनीहरुको पहिचान खुलाइएको छैन । पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावासले पनि आत्मघाती हमलामा २ नेपालीको मृत्यु भएको अनौपचारिक जानकारी आएको बताएको छ। मृत्यु भएका दुवै नेपाली ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको ‘गार्दा वर्ल्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा कार्यरत थिए।

घाइतेमा कोही पनि नेपाली नरहेको बताइएको छ। सोही स्थानमा लामो समय काम गरेर फर्किएका एक नेपालीका अनुसार त्यति बेला त्यहाँ करिब ११८ जना नेपाली र केही नेपालीभाषी भारतीय नागरिक सुरक्षा गार्डका रुपमा कार्यरत थिए।

बिस्फोटमा परी १२ जना अफगानी र २ जना अर्को देशका सुरक्षा गार्डको पनि ज्यान गएको छ । आत्मघाती हमलाको जिम्मा तालिवान समूहले लिएको छ। उसले विदेशी सैनिकलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ।

तालिवानले उक्त भवनमा सशस्त्र लडाकुहरू रहेको दाबी गरेको रोयटर्सले उल्लेख गरेको छ। ग्रीन पार्कमा भएको यो पाँचौं ठूलो हमला हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्