विदेश

भारतको अर्थव्यवस्था निकै चिन्ताजनक अवस्थामाः पूर्व प्रम सिंह

हिमालय टिभी
२०७६ भदौ १५ गते १२:४४
भारतको अर्थव्यवस्था निकै चिन्ताजनक अवस्थामाः पूर्व प्रम सिंह

नयाँ दिल्ली । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहले भारतको अर्थव्यवस्था निकै चिन्ताजनक रहेको बताएका छन् ।

नरेन्द्र मोदी सरकारले गरेको गम्भीर त्रुटीका कारण अर्थव्यवस्था कमजोर बनेको पूर्व प्रधानमन्त्री मनमोहन सिंहको आरोप छ । भारत सरकारले शुक्रबार भारतको आर्थिक वृद्धिदर पछिल्लो ६ वर्ष यताकै सबैभन्दा कम पुगेको तथ्यांक सार्वजनिक गरेपछि अर्थशास्त्री एवं पूर्व प्रधानमन्त्री सिंहको प्रतिक्रिया आएको हो ।

सिंहले अहिलेको आर्थिक संकटलाई मानव निर्मित संकट भन्दै प्रधानमन्त्री मोदीलाई त्यसको जिम्मेवार ठानेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा जीडीपी वृद्धिदर ५ प्रतिशत मात्रै छ । यसअघिको त्रैमासिकमा दर ५ दशमलब ८ प्रतिशत थियो । यस्तै, सन् २०१८ को जुनमा यो दर ८ प्रतिशत थियो । भारतको अर्थतन्त्र लगातार ओरालो लागेको र यही अवस्था रहे निकै मुश्किल हुने सिंहको बुझाइ छ ।

सिंहले मोदी सरकारलाई प्रतिशोधको राजनीतिबाट बाहिर निस्केर बुद्धिजीवी र विचारकको सहयोग लिएर संकट समाधान गर्न आग्रह गरेका छन् । भारतको अर्थव्यवस्था तीव्र गतिमा वृद्धि हुन सक्ने क्षमताको रहेको तर त्यसका लागि सरकारले बुद्धिमत्तापूर्ण निर्णय लिनुपर्ने उनले सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *