मोतिहारी-अमलेखगञ्ज पाइपलाइनको उद्घाटन भदौ २४ गते हुने
काठमाडौं। बहुचर्चित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन भदौ २४ गते हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा पाइपलाइनको उद्घाटन गर्नुहुनेछ ।
पाइपलाइनका परियोजनाका प्रमुख प्रदीपकुमार यादवले दुवै मुलुकका प्रधानमन्त्रीले भदौ २४ गते ‘हाइटेक’ प्रविधिबाट पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने मिति तय भएको जानकारी दिनुभयो ।
उद्घाटनपछि पाइपलाइनबाट नियमित इन्धन आपूर्ति हुने उहाँको भनाई छ । ओलीले प्रधानमन्त्री निवासबाट र भारतीय समकक्षी मोदीले नयाँदिल्ली निवासबाट एकैसाथ रिमोट थिचेर पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
रिमोटको सेन्सर हुँदै कम्प्युटरको सेन्सरमार्फत अमलेखगञ्जस्थित डिपोको युनिटको भल्ब खुल्नेछ र त्यसपछि पाइपलाइनमार्फत नियमित रूपमा तेलको आपूर्ति सुरु हुनेछ ।
यसअघि नै सो पाइपलाइनको सफल परीक्षण भइसकेको छ । दुवै मुलुकका प्रधानमन्त्रीले रिमोट थिच्नुभन्दा अघि नै मोतिहारीस्थित इन्डियन आयल कर्पोरेसनको डिपोले तेल छोडिसकेको हुनेछ ।
परीक्षणका क्रममा पाइपलाइनमा तेल भरिएको हुनाले मोतिहारीबाट छोड्ने वित्तिकै अमलेखगञ्जमा तेल आइपुग्ने छ । पाइपलाइनमार्फत प्रतिघण्टा दुई सय किलोलिटर इन्धन अमलेखगञ्जको
डिपोमा खसाल्न सकिने छ ।
प्रतिक्रिया