आर्थिक

सुनको भाउ बढ्ने क्रम रोकिएन, आज तोलाको ६९ हजार ५० रुपैयाँमा कारोबार

हिमालय टिभी
२०७६ साउन २२ गते ६:५६
सुनको भाउ बढ्ने क्रम रोकिएन, आज तोलाको ६९ हजार ५० रुपैयाँमा कारोबार

काठमाडौं । सुनको भाउ बढ्ने बढ्ने क्रम अझै रोकिएन ।

गत हप्तादेखि लगातार उकालो लागिरहेको सुनको मूल्य आज एकै दिन तोलामा १५ सय रुपैयाँ बढेर ६९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । सोमबार पनि सुन तोलामा १५ सय रुपैयाँ नै बढेको थियो ।

यस्तै, तेजाबी सुन ६९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुन महँगो भएकाले नेपालमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औँस १४ सय ८६ डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय अर्थतन्त्रमा देखिएको अस्थिरता, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अर्थनीति र कश्मीर तनावका कारण अहिले लगानीकर्ताहरु सुनमा आकर्षित भएका छन् । जसले गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेकाले भाउ पनि उकालो लागेको हो । सुनको भाउ बढेपछि अहिले किन्ने भन्दा सुन बेच्ने बढेका महासंघले जनाएको छ ।

सामान्य अवस्थामा नेपालमा दैनिक २५ देखि ३० किलोसम्म सुनको बिक्री हुने गरेको थियो । तर अहिले दैनिक १० किलोको हाराहारीमा मात्र सुन बिक्री भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा भर पर्ने भएकाले माग घटे पनि नेपालको बजारमा सुनको भाउ चाहिँ बढिरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *