समाज

भारत सरकारद्वारा जम्मू-कश्मीरको विशेषाधिकार खारेज

हिमालय टिभी
२०७६ साउन २० गते ७:२६
भारत सरकारद्वारा जम्मू-कश्मीरको विशेषाधिकार खारेज

काठमाडौं । भारत सरकारले जम्मुकश्मीरलाई विशेष राज्यको दर्जा दिइएको संविधानको धारा ३७० खारेज गरेको छ । यो सँगै जम्मु–काश्मीर अब केन्द्र शासित प्रदेश भएको छ ।

भारतीय गृहमन्त्री अमित साहले आज राज्यसभा बैठकमा जम्मु–कश्मीरलाई विशेष राज्यको दर्जा दिइएको प्रावधान खारेज गर्ने प्रस्ताव पेश गर्नुभएको थियो । कांग्रेस लगायतका विपक्षीको कडा विरोधकाबीच प्रस्ताव पारित भएपछि कश्मीरको विशेष राज्यको दर्जा अन्त्य भएको हो ।

यससँगै लद्दाखलाई जम्मु–काश्मीरबाट छुट्याएर केन्द्र शासित क्षेत्र बनाइएको छ । जम्मु–कश्मीर केन्द्र शासित प्रदेश भए पनि विधानसभा रहने बताइएको छ । भारतीय सरकारको पछिल्लो निर्णयको काश्मीरका नेताहरुले चर्को आलोचना गरेका छन् । उनीहरुले भारतीय लोकतन्त्रका लागि यो कालो दिन भएको बताएका छन् ।

त्यसअघि जम्मू–काश्मीरमा गएरातीबाटै सुरक्षा सतर्कता बढाउँदै कैयौं नेतालाई नजरबन्दमा राखिएको थियो । श्रीनगरमा नेशनल कन्फ्रेन्सका नेता उमर अब्दुल्ला, पूर्व मुख्यमन्त्री तथा पीडीपी अध्यक्ष महबूबा मुफ्ती र जम्मू काश्मीर पीपल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई घरमै नजरबन्दमा राखिएको छ ।

यस्तै राजधानी श्रीनगर, जम्बु लगायतका स्थानमा कर्फ्यू जारी गरिएको छ । शैक्षिक संस्था बन्द गरिएको छ भने आवतजावतमा प्रतिबन्ध लगाइएको छ । सबै प्रकारका फोन तथा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको छ ।

पहिले छुट्टै मुलुक रहेको काश्मीर सन १९४७ मा भारतमा गाभिएको थियो । तर पाकिस्तानले पनि काश्मीरमाथि दाबी गरिरहेको छ । जसका कारण दुइ मुलुकबीच ४ पटकसम्म युद्ध भइसकेको छ ।

भारत प्रशासित कश्मीरमा देखिएको पछिल्लो तनावपछि पाकिस्तानमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले काश्मीरमा भारतको आक्रामक नीतिका कारण दुई देशबीच नयाँ संकट उत्पन्न हुन सक्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्