समाज
बैंकिङ कसुरका फरार प्रतिवादी चेम्जोङ्ग पक्राउ
२०७६ साउन १३ गते ९:२९

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसुरका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
करिब ११ लाख रुपैयाँको चेक बाउन्स गरी ठगी गरेको आरोपमा पाँचथरको साविक यासोक गाविस–८ घर भई भक्तपुर बालकोट बस्ने पृथ्वीराज चेम्जोङ्गलाई ब्यूरोले पक्राउ गरेको हो।
चेम्जोङ्गलाई पाटन उच्च अदालतले गत वर्ष पुस ९ गते १५ दिन कैद र १० लाख ९४ हजार पाँच सय रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो।
चेम्जोङ्गले आर्थिक व्यवहार मिलाउने भन्दै मन्जु श्रेष्ठसँग १० लाख ९४ हजार पाँच सय रुपैयाँ ऋण सापटी लिएको र भुक्तान गर्नका लागि पर्याप्त रकम नभएको प्रभु बैंक लिमिटेडको खाताको चेक दिएका थिए ।
गोङ्गबुबाट पक्राउ परेका चेम्जोङलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया