नेपालद्वारा कुवेत ७ विकेटले पराजित

काठमाडौ । विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटको एसियाली छनोटमा नेपालले आज कुवेतलाई ७ विकेटले पराजित गरेको छ । लगातार दोस्रो जीतसँगै तालिकाको शिर्ष स्थानमा पुग्ने नेपालको संभावना कायमै छ ।
कुवेतले दिएको १ सय ४२ रनको लक्ष्य नेपालले १५ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर पार गरेको हो । ग्लोबल छनोटमा पुग्न नेपालले अन्तिम खेलमा सिंगापुरलाई हराउनु पर्नेछ ।
नेपालको जीतमा कप्तान पारस खड्काले ६८ रनको उत्कृष्ट इनिङ्स खेले । चोटका कारण एक खेलपछि फर्किएका कप्तान खड्काले ४२ बल खेल्दै १ छक्का र ११ चौका प्रहार गरेका थिए ।
शरद् भेषावकर ३८ रनमा अविजित रहँदा उपकप्तान ज्ञानेन्द्र मल्लले १९ रन जोडे ।
बलिङमा कुवेतका मुहम्मद कासिफले तीन विकेट लिए । सिंगापुरको इण्डियन एशोसिएशन क्रिकेट मैदानमा यसअघि
टस हारेर पहिले ब्याटिङ् गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । उसका लागि कप्तान कासिफले अविजित ४९ रन बनाए । बलिङमा नेपालका वसन्त रेग्मी र संदीप लामिछानेले तीन–तीन तथा करन केसीले दुई विकेट लिए ।
आफ्नो पहिलो खेलमा कतारसँग चार विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई सात विकेटले हराएको थियो । कुवेतसँगको जीतसँगै ३ खेलबाट ४ अंक जोडेर नेपाल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको सिंगापुरको ५ अंक छ ।
नेपालले भोली आयोजक सिंगापुरसँग खेल्नेछ । सिंगापुरलाई पराजित गरे नेपाल शीर्ष स्थानमा रहदै ग्लोबल छनोटमा पुग्नेछ । ग्लोवल छनोटमा सहभागि हुने १४ टिममध्ये शिर्ष ६ स्थानमा रहने टिमले विश्वकप खेल्न पाउनेछन् ।
प्रतिक्रिया