समाज

आज वीपी जयन्ती विभिन्न कार्यक्रमसहित मनाइँदै

हिमालय टिभी
२०७६ साउन ६ गते ७:०७
आज वीपी जयन्ती विभिन्न कार्यक्रमसहित मनाइँदै

काठमाडौं । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृति दिवस देशभर विविध कार्यक्रम गरेर मनाइँदैछ ।

नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।

कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभएको थियो । तर, जननिर्वाचित सरकारलार्ई तत्कालिन राजा महेन्द्रले २०१७ साल पुस १ गते अपदस्त गरेर निरंकुश शासन सुरु गरेपछि कोइरालासहित नेतालाई सिंहदरबारमै बन्दी बनाइएको थियो ।

काठमाडौको सुन्दरीजलमा उहाँ लगायत प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, कांग्रेस नेता गणेशमान सिंह लगायतलाई बन्दी बनाइएको थियो । २०२५ सालमामा स्वास्थ्य परीक्षणका लागि कारागारमुक्त कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित हुनुभयो ।

कोइराला २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको थियो । त्यसबेला आठवटा ज्यान मुद्दा लगाइएका वीपीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दी गृहमा लगिएको थियो । उहाँले प्रवर्द्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ ।

वीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले देशभर विभिन्न कार्यक्रम गर्दैछ । विपी कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्द्धक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’ र ‘बाबु, आमा र छोरा’ गरी ६ वटा उपन्यास प्रकाशित छन् ।

त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ प्रकाशित छ । यस्तै सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित आत्मवृतान्त ‘जेल जर्नल’ पनि प्रकाशित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्