आर्थिक

कसरी गर्ने विषादीमुक्त तरकारी खेती, यसो भन्छन् विज्ञ

हिमालय टिभी
२०७६ साउन ४ गते ११:५१
कसरी गर्ने विषादीमुक्त तरकारी खेती, यसो भन्छन् विज्ञ

म्याग्दी । भारतबाट विषादीयुक्त तरकारी आयतमा उदार भयो भनेर दुई हप्ता अघि सरकारको खुवै आलोचना भयो । केही दिन तर्क(वितर्क पनि भए । तर, विषादीको प्रयोग नगरी तरकारी उत्पादन गर्ने विषयमा खासै चर्चा भएन ।

चर्चा नभए पनि देशका केही किसानले विषादीको प्रयोग नगरी तरकारी उत्पादन गरिरहेका छन् । तपाईं पनि यस्तो चाहनुहुन्छ भने विज्ञहरुको सुझाव छ-जैविक विषादीको प्रयोगले पनि राम्रो खेती गर्न सकिन्छ ।

म्याग्दीकी कुलमति चोचाङ्गे कृषि पेशामा लागेको धेरै वर्ष भयो । उहाँले सिजन अनुसार तरकारी उत्पादन गर्नुहुन्छ, तर अहिलेसम्म विषादी प्रयोग गर्नुभएको छैन । बरु, विषादी कसरी कम गर्न सकिन्छ भनेर तालिम लिनुभएको छ ।

बजारमा पाउने अनेकथरी विषादीसँग म्याग्दीको अरु केही किसान पनि सचेत छन । कुलमति जस्तै अन्नपूर्ण गाउँपालिका-८ राम्चेका यी किसानले अहिलेसम्म विषादीको प्रयोग नगरी तरकारी उत्पादन गरिरहनु भएको छ । उहाँलाइ धेरै नाफा कमाउने लोभ छैन । त्यसैले तरकारीमा विषादिको प्रयोग गर्नुहुन्न ।

नेपालमा विषादीको प्रयोग नगरी तरकारी उत्पादन गर्ने किसान निकै कम छन् । बढी मुनाफाको लोभमा किसानले धेरै विषादी प्रयोग गरिरहेका छन् । बागवानी अनुसन्धान महाशाखा, राष्ट्रिय कृषि अनुसन्धान परिषद्का प्रमुख ईश्वरीप्रसाद गौतमका अनुसार गाउँघरमा उपलब्ध हुने विभिन्न सामग्रीबाट पनि जैविक विषादी र मल बनाउन सकिन्छ, तर यसमा किसानहरुलै खासै ध्यान दिएका छैनन ।

गाउँघरमै उपलब्ध हुने गाईको पिसाब, तितेपाती, निमजस्ता वनस्पतिबाट पनि जैविक विषादी र मल बनाउन सकिन्छ । बढी मुनाफाको लोभमा किसानले मात्रा, अन्तराल, समयावधि, पर्खने अवधिलगायतमा ध्यानै नदिई विषादी प्रयोग गर्छन । प्रयोगमै मात्र पनि सर्तकता अपनाउने हो भने कम विषादीयुत्त तरकारी उत्पादन गर्न सकिन्छ ।

धेरै उत्पादन र बढी नाफाका लागि एकातिर विषादी र अर्कोतिर रसायनिक मलको प्रयोग उच्च छ । यसले माटोको उर्वरा शक्तिमा पनि ह्रास ल्याइरहेको छ । यी कुराबाट बचेर गाउँघरमै बनाउन सकिने जैविक विषादीको प्रयोगले पनि राम्रो खेती गर्न सकिन्छ । यसका लागि किसान आफै र सरकारले जैविक विषादी र प्राङ्गारिक खेतीमा जोड दिनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *