समाज

लुतो फाल्ने पर्वका रुपमा साउने संक्रान्ति पर्व मनाइँदै

हिमालय टिभी
२०७६ साउन १ गते ६:३८
लुतो फाल्ने पर्वका रुपमा साउने संक्रान्ति पर्व मनाइँदै

काठमाडौं । लुतो फाल्ने पर्वका रुपमा आज साउने सङ्क्रान्ति मनाइँदैछ ।

सौर्यमान्अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कट रेखामाथि जाने भएकाले आजको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । कृषिप्रधान देशमा मानो खाई मुरी उब्जाउने प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् ।

आज साँझ लुतो, दाद आदि चर्म रोगबाट मुक्ति पाउन लुतो फाल्ने चलन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने चर्म रोगबाट जोगिन लुतो फाल्ने प्रचलनस्वरुप यो पर्व मनाउन थालिएको हो ।

प्राचीन प्रचलनअनुसार काग, भलायो, कुकुर डाइनो, लुतेझार, पानीसरो आदि औषधीजन्य वनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नासपाती लगायतका फलफूल चढाएर कण्डारक नामक राक्षसको पूजा गरिन्छ ।

महिलाहरु साउने सङ्क्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् । देवी पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेकाले सोमबारे व्रतको हिन्दु समाजमा विशेष महत्व छ । साउन महिना भगवान शिवको महिना भएकाले यो महिनाभर शिवालयहरुमा दर्शनार्थीहरुको भिड लाग्छ ।
आजदेखि हिन्दु नेपालीहरुको साँस्कृतिक र धार्मिक पर्वहरु सुरु भएको मानिन्छ । आजबाट सूर्य दक्षिणतर्फ सरी कर्कट रेखामाथि जाने भएकाले आजबाट दिन छोटो रात लामो हुँदै जान्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्