आज शुक्ल पूर्णिमाका दिन खण्डग्रास चन्द्रग्रहण लाग्दै

काठमाडौं । आज अर्थात आषाढ शुक्ल पूर्णिमाका दिन मङ्गलबार खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । ग्रहणले राति १ः४६ बजेदेखि पूर्व र दक्षिणको बीच बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
बिहान ३ः१५ मा ग्रहणको मध्यकाल हुनेछ । बिहान ४ः४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिनेछ । उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशीका लागि कष्टकर हुने शास्त्रीय विश्वास छ । यी दुई राशीले ग्रहण हेर्नु हुँदैन ।
यसैगरी मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशी हुनेले पनि ग्रहण हेर्न हुँदैन । कर्कट, तुला, कुम्भ र मीन राशी भएकाहरुले भने ग्रहण हेर्नु हुन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ ।
ग्रहणका समयमा दीक्षामन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकका नदी, ताल, तलाउ, पोखरी र सम्भव नभए घरमै स्नान गर्नुपर्ने ‘निर्णयसिन्धु’, ‘हेमाद्रि’ ‘कालमाधव’, ‘वीरमित्रोदय’ लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गारपटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।
प्रतिक्रिया