समाज

बाढी र पहिरोका कारण अहिलेसम्म ६६ जनाको मृत्यु, ३० जना बेपत्ता

हिमालय टिभी
२०७६ असार ३० गते ७:३४
बाढी र पहिरोका कारण अहिलेसम्म ६६ जनाको मृत्यु, ३० जना बेपत्ता

काठमाडौं । अविरल वर्षापछिको बाढीपहिरो र डुवानमा परेर ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ । २४ महिला र ४१ पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । अझै ३० जना बेपत्ता छन् भने ३८ जना घाइते छन्।

पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा धेरै प्रदेश ३ मा २३ जनाको ज्यान गएको छ । दोस्रोमा प्रदेश १ मा २१ जना र तेस्रोमा प्रदेश २ मा १८ जनाको ज्यान गएको तथ्याङ्क छ । प्रदेश नम्बर ५ र ६ मा २/२ जनाको ज्यान गएको छ । अहिलेसम्म प्रदेश ७ मा मानवीय क्षतिको कुनै विवरण छैन ।

प्रदेश ३ मा काठमाडौँमा तीन र ललितपुरमा पाँच जनाको मृत्यु भएको छ । सिन्धुली र मकवानपुरमा चार चार, काभ्रेमा तीन, धादिङमा दुई र चितवन र रामेछापमा एक एक जनाको मृत्यु भएको प्रहरी तथ्याङ्क छ ।

प्रदेश १ मा भोजपुरमा ५, ओखलढुंगामा चार, खोटाङमा तीन, झापा र उदयपुरमा दुई दुई अनि पाँचथर, इलाम, मोरङ र सुनसरीमा एक/एक जनाको मुत्य भएको छ ।

प्रदेश २ को तथ्याङ्क हेर्दा रौतहटमा पाँच, सिरहामा चार, धनुषामा तीन, महोत्तरी, बारा र पर्सामा दुई/दुई जनाले ज्यान गुमाएका छन् ।

प्रदेश ५ मा दाङ र पाल्पामा एक एक जनाले ज्यान गुमाएका छन् । कर्णाली प्रदेशको डोल्पामा दुई जनाको मृत्यु भएको खबर छ ।

बाढी पहिरोमा परी ३० जना बेपत्ता छन् । डोल्पामा ९ , सिन्धुलीमा ४ , इलाम र मोरङमा ३(३ जना बेपत्ता भएका छन् । महोत्तरीमा २ तथा काठमाडौं, ललितपुर, झापा, सुनसरी, रौतहट, धनुषा, पर्सा, धादिङ र दाङमा १/१ गरी जना बेपत्ता छन् ।

बाढीपहिरो र डुवानमा ३८ जना घाइते भएका छन् । धनकुटामा ८, मकवानपुरमा ४, ललितपुर र सिरहामा ३(३, झापा, भोजपुर, सुनसरी, महोत्तरी, काभ्रे र सिन्धुलीमा २(२ जना घाइते छन् । काठमाडौं, भक्तपुर, खोटाङ, उदयपुर, रामेछाप, धादिङ, दोलखा र चितवन १/१ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बाढीपहिरो र डुवानमा परेका एक हजार चार सय ४६ जनाको उद्दार गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्