समाज

अविरल वर्षा र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

हिमालय टिभी
२०७६ असार २८ गते ७:३९
अविरल वर्षा र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षापछि आएको बाढी(पहिरोले विभिन्न राजमार्ग अवरुद्ध भएका छन । राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु प्रभावित भएका छन् । राहत तथा उद्धारमा पनि कठिनाई भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बाढीले बगाएको छ । पुलको बिच भाग नै भत्किएपछि आवागमन अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध सवारीका साधन भएपछि वैकल्पिक बाटो भएर आवतजावत गरेका छन् ।

पुल भत्किएपछि बर्दिवास नगरपालिका–५ सशस्त्र प्रहरीको माइस्थान चेकपोष्टतर्फ र रातुखोलातर्फ सयौँ गाडी रोकिएका थिए । सडकमा अलपत्र यात्रु वैकल्पिक बाटो भएर गन्तव्यतिर लागेका छन । यसबाहेक महोत्तरीमै बर्दिवास नगरपालिका–१ मा रहेको पानी खोल्सीले राजमार्ग पनि भत्काएको छ ।

कालीगण्डकी नदीको बाढीले सडक कटान गरेपछि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिरमा कालीगण्डकीले करीब १० मिटर सडक कटान गरेपछि ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक अवरुद्ध भएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार सडक अवरुद्ध हुँदा बेनी र जोमसोमका लागि छुटेका सवारीसाधन बीच बाटोमै थन्किएका छन् । यात्रु बाटोमै अलपत्र परेका छन् । ढुवानी सेवासमेत प्रभावित भएको छ । कालीगण्डकीको बहाव नघटेसम्म सडक मर्मत गर्न सम्भव नरहेको बताइएको छ ।

सुनसरीको कोशी व्यारेजस्थित सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि पूर्वपश्चिम आवतजावत गर्ने सवारीसाधनलाई पालोपालो जाने व्यवस्था मिलाइएको छ । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि ५५ मध्ये ३० ढोका खोलिएका छन् ।

बिहानको मापनअनुसार नदीमा दुई लाख २६ हजार ७०० क्यूसेक पानी पुगेको थियो । हिजोदेखि कोशी ब्यारेजमा खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको छ । दुवैतिरको नहर पनि खोलिएको छ ।

यस्तै ठाउँ ठाउँमा गएको पहिरोले मेची राजमार्ग पनि अवरुद्ध भएको छ । यसबाहेक अविरल वर्षातले त्रिभुवन राजपथको महभिरमा पहिरो र रुख ढल्नाले हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा अझै बिहानैदेखि अवरुद्ध बनेको छ ।

वर्षातले भैँसेदेखि निबुवाटारबीचको स्थानमा पहिरो जाँदा हेटौँडा–भीमफेदीतर्फ यातायात सेवा पनि अवरुद्ध भएको छ । यसैगरी हेटौँडा कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सिस्नेरी र फाखेल तर्फको सडकखण्डमा शुक्रबारदेखि यातायात सेवा अवरुद्ध छ । हेटौँडा–कुलेखानी–फाखेलतर्फको पहिरो हटाई यातायात सेवालाई सञ्चालन गर्न प्राविधिक र डोजर पठाइएको छ ।

अविरल वर्षासँगै आएको बाढीले सप्तरीको बोदे बसाइन नगरपालिका–५ स्थित खडकखोलामा नवनिर्मित पुल बगाएपछि पूर्वपश्चिम हुलाकी सडकखण्डअन्तर्गत पूर्णरुपले अबरुद्ध भएको छ ।

खोलामा आएको बाढीले पुलको पिलर नै भाँसिएपछि पुल बगेको स्थानीयवासीले बताएका छन् । बाढीले पुल बगाएपछि पूर्वपश्चिम हुलाकी राजमार्ग आवागमण पूर्णरूपले ठप्प भएको छ । यात्रुहरु अलपत्रमा परेका छन् । यस्तै हुलाकी सडकअन्तर्गत बोदे बसाइन बजार नजिकै सडक भत्किँदा बजार सम्पर्कविहीन बनेको छ भने विद्युत् सेवासमेत अबरुद्ध भएको छ ।

काभ्रेपलाञ्चोकको बनेपास्थित अरनिको राजमार्ग अन्तर्गत पुलबजारमा अविरल बर्षाका कारण पुन्यमति खोलामा बाढी आएर जलमग्न भएपछि यातायात सञ्चालनमा अवरोध पुगेका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *