शिक्षा आयोगको उपाध्यक्ष नियुक्त प्रक्रिया तत्काल रोक्न केसीको माग
काठमाडौं । वरिष्ठ चिकित्सक गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्त प्रक्रिया तत्काल रोक्न सरकारसँग माग गर्नु भएको छ ।
चिकित्सा शिक्षा क्षेत्रको समग्र सुधारको मागसहित आन्दोलन गर्दै आउनु भएका वरिष्ठ चिकित्सक केसीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोगको उपाध्यक्ष चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै तत्काल सो प्रक्रिया रोक्न सरकारसँग माग गर्नु भएको हो ।
योग्य मान्छेलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने गरी आयोगको उपाध्यक्ष छनोट गर्नुपर्ने भएकाले हाल अघि बढाएको प्रक्रिया रोक्न सरकारसँग माग गर्नु परेको उहाँले बताउनुभयो ।
वरिष्ठ चिकित्सक केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा योग्यतम तथा कार्यक्षमता प्रमाणित भइसकेका व्यक्ति नियुक्त गर्न सरकारलाई सचेत पनि गराउनु भयो । उहाँले त्यसो नगरिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिनु भयो ।
पत्रकार सम्मेलनमा वरिष्ठ चिकित्सक केसीले मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक र राष्ट्रिय मानव अधिकार आयोगसँग सम्बन्धित विधेयक आम नागरिकको मुख थुन्ने गरी आएको दावी गर्दै तत्काल खारेज गर्न पनि सरकारलाई दवाव दिनु भयो ।
प्रतिक्रिया