खेलकूद

चुनौतिको चाङमा सदस्य सचिव सिलवालको यात्रा

हिमालय टिभी
२०७६ असार २६ गते ७:५०
चुनौतिको चाङमा सदस्य सचिव सिलवालको यात्रा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवालको काँधमा चुनौतीको पहाड नै छ । १३औं दक्षिण एसियाली खेलकुद आयोजना, नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवा, राखेपका अस्थायी र करार कर्मचारी तथा संघहरुको ब्यवस्थापन सिलवालको प्रमुख चुनौती हुन् ।

खेलकूद क्षेत्रको सर्वोच्च कार्यकारी पदको शपथ लिँदै गर्दा रमेश कुमार सिलवालले भनेका थिए – म यहाँ सुविधा लिन र कमाउन आएको होइन । मलाई रिवन काट्न, मेडल बाँड्न नबोलाउनु होला । उनको थप दावी थियो– धेरै बोल्नु र उत्तर दिइरहनु भन्दा कामबाटै सबैको जवाफ दिनेछु ।

नेपाल क्रिकेट संघ क्यानमा विनयराज पाण्डे अध्यक्ष रहँदा सिलवाल उपाध्यक्ष थिए । सिलवालले तदर्थ समितिको नेतृत्व पनि गरे । अहिले क्यान निलम्बनमा छ, यो निलम्बन फुकुवा गराउने अर्को जिम्मेवारी सदस्य सचिव सिलवालको काँधमा छ ।

राष्ट्रिय खेलकुद परिषदमा कार्यरत अस्थायी र करार कर्मचारी १७ वर्षदेखि अन्यौलमा छन् । उनीहरुको उचित ब्यवस्थापनलाई पनि सिलवालले प्राथमिकतामा राखेका छन ।

परिषदमा दुई सयभन्दा बढी संघ दर्ता छन् । केही संघ झोलामा त केही कागजमा मात्रै सीमित छन् । ती संघको ब्यवस्थापन अर्को चुनौती हो । अफ्ठेरो भएपनि व्यवस्थापन गर्ने उनको दावी छ ।

सिलवालको कार्यकाल चार वर्षको हो । यस क्रममा उनले खेलाडीको समस्या, खेलकुदको ब्यवसायिकता, खेलेर बाँच्न सक्ने अवस्था, डाइट, भौतिक पूर्वाधार लगायतको क्षेत्रमा काम गर्नु पर्ने चुनौती छ । शपथ ग्रहण समारोहमा भने जस्तै उनले एक्सनबाट जवाफ देलान् त ? त्यो भने समयले नै देखाउला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्