समाज

देशभर मनसुनी वर्षा सक्रिय, सानाठुला नदीमा बाढी आउन सक्ने चेतावनी

हिमालय टिभी
२०७६ असार २६ गते ७:४७
देशभर मनसुनी वर्षा सक्रिय, सानाठुला नदीमा बाढी आउन सक्ने चेतावनी

काठमाडौं । देशभर आज र भोली साना तथा ठूला नदीहरुमा बाढीको बहाव उच्च हुने सम्भावना रहेको भन्दै सरकारले पूर्वतयारी र प्रतिकार्यमा जुट्न आह्वान गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले तराई, र मध्य पहाडी क्षेत्रमा आगामी २४ घण्टासम्म भारी वर्षा हुने अनुमान गरेको छ । जसका कारण नदी तथा खोलाहरुमा ठूलो बाढी आउने सम्भावना छ ।

तराईका कन्काई र कमला नदीमा पनि पानीको सतह खतराको लेबलभन्दा माथि पुग्ने चेतावनीसमेत दिइएको छ । नेपाल बाढी सूचनाले प्रदेश १, २, ३, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका तराईको भूभागबाट बहने साना तथा मझौला नदीहरूमा बाढीको उच्च सम्भावना रहेको तर्फ सचेत गराउँदै पूर्वतयारी र प्रतिकार्यमा जुट्न आग्रह गरेको छ ।

मौसमविदले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै हवाई र सडक यातायातमा अवरोध आउन सक्ने बताएका छन् । मौसमी बुलेटिनमा लेखिएको छ, ‘नदीहरुमा जलको बहाव, स्तर बढ्न सक्ने र पहाडी क्षेत्रहरुमा पहिरोको जोखिम बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ । साथै, हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्नेछ ।’

हाल मनसुन न्यूनचापीय रेखा नेपालको नजिक रहेकाले देशभर पूर्ण बदली रही मध्य र पूर्वका केही स्थानहरु तथा पश्चिम क्षेत्रको धेरैजसो स्थानमा मनसुनी वर्षा जारी रहेको विभागले जनाएको छ ।

गृहमन्त्रालयका उपसचिव एवं विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख वेदनिधि खनालले सरकार प्रकृतिक विपद्को न्यूनिकरणका लागि तयारी अवस्थामा रहेको बताउनुभयो । उहाँले केन्द्रले प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्दै राहात र उद्धारका लागि कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *