समाज

भोजपुरमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान, एक प्रहरीसहित दुई जनाको मृत्यु

हिमालय टिभी
२०७६ असार २५ गते ७:५६
भोजपुरमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान, एक प्रहरीसहित दुई जनाको मृत्यु

भोजपुर । भोजपुरमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच भएको झडपमा दुई जनाको मृत्यु भएको छ । सदरमुकाममै भएको गोली हानाहानमा विप्लव समुहका जिल्ला इन्चार्ज र एक प्रहरी जवानको मृत्यु भएको हो ।

सरकारले फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि प्रहरीतर्फ क्षति भएको यो पहिलो घटना हो । भोजपुर बजारको हटिया लाइनमा भएको गोली हानाहानमा प्रहरी जवान संजीव राई र विप्लव समूहका ओखलढुंगा इन्चार्ज नीरकुमार राईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिनुभयो ।

झडपमा घाइते भएका प्रहरी जवान खेमनाथ भट्टराईको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । भोजपुरको षडानन्द नगरपालिका १३ घर भएका नीरकुमारसहित विप्लव समुहका केही कार्यकर्ता सदरमुकाममा रहेको सूचना पाएपछि प्रहरीले हिजोदेखि नै खोजतलास अभियान तिव्र पारेको थियो ।

शनिबारे हटियामा रहेको पान्धारे होटल नजिकै सादा पोशाकमा रहेका प्रहरी र नीरकुमार राईबीच भेट भएपछि गोली हानाहान भएको प्रजिअ खतिवडाको भनाइ छ । उहाँका अनुसार शुरुमा नीरकुमारले हानेको गोली लागेर प्रहरी जवान संजीव ढलेपछि सँगै रहेका खेमनाथले गोली चलाएका थिए ।

दुबैजनाको अस्पताल पुर्याउनु अघि नै मृत्यु भएको थियो । घटनापछि भागेका विप्लव समुहका कार्यकर्ता खोज्न प्रहरीले अभियान चलाइरहेको छ । भोजपुर बजार बन्द छ भने स्थानीय त्रसित छन् ।

भोजपुरमै डेढ महिनाअघि विप्लव समुहका जिल्ला सदस्य तिर्थराज घिमिरेको प्रहरीको गोलीबाट मृत्यु भएको थियो । प्रहरीलाई लक्षित गरी विप्लव समुहले गोली चलाएको भने यो पहिलो घटना हो ।

सर्लाहीमा असार पहिलो साता प्रहरीको गोली लागेर विप्लव समुहका जिल्ला इन्चार्ज कुमार पौडेलको मुत्यु भएको थियो । विप्लव समुहले घिमिरे र पौडेल दुबैलाई पक्राउ गरेर प्रहरीले हत्या गरेको बताइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्